समाज

अपडेट: छठ मनाउन घर फर्किंदै थिए भीमफेदी दुर्घटनामा ज्यान गुमाउने, मृतक ११ जनाकै पहिचान खुल्यो

छठ पर्व मनाउन काठमाडौंबाट सर्लाहीस्थित घर फर्किंदै गरेका यात्रुको यात्रा मकवानपुरको भीमफेदीमा पुगेर सधैंका लागि टुंगिएको छ। विद्युतीय गाडी (ईभी) दुर्घटनामा परी ११ जनाले ज्यान गुमाएका छन्, जसमा एकै गाउँका परिवारका सदस्य र आफन्तसमेत छन्।

दुर्घटनामा गाडीका चालक सर्लाहीको कबिलासी गाउँपालिका–८ निवासी करिब ३० वर्षीय रविशंकर कुमार मण्डलको मृत्यु भएको छ।

त्यस्तै, सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर टोलका २६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव र उनका तीन छोरीको पनि दुर्घटनामा ज्यान गएको छ। मृत्यु हुने तीन बालिकामा १० वर्षीया अनु कुमारी यादव, ७ वर्षीया दीक्षा यादव र ५ वर्षीया दीपिका यादव छन्।

पर्व मनाउन घर फर्किएको एउटै परिवारको खुसीको यात्रासँगै तीन नाबालक छोरीको जीवन पनि दुर्घटनाले एकैपटक खोसेको छ।

यसैगरी, सोही स्थानका करिब ३५/३६ वर्षीय गुड्डु यादव, उनकी श्रीमती ३०/३२ वर्षीया गायत्री देवी, २५/२६ वर्षीय राम दुलार यादव, २४/२५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवको पनि दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।

छठको उल्लासमा परिवारसँग पुनर्मिलन हुने आशामा घर फर्किरहेका उनीहरू भीमफेदीको दुर्घटनामा परेपछि कहिल्यै घर नफर्किने गरी अस्ताएका छन्। एउटै गाउँका परिवार र आफन्तले एकै दुर्घटनामा आफ्ना प्रियजन गुमाएपछि सुन्दरपुर टोल शोकमा डुबेको छ।

पर्वको खुसी मनाउन घरतर्फ लागेको यात्रा बीच बाटोमै अन्त्य हुँदा कयौं परिवारको प्रतीक्षा पीडामा बदलिएको छ। छठका लागि घर फर्किने बाटोमा निस्केका ११ जनाको जीवन अन्ततः भीमफेदीको सडक दुर्घटनाले एकैपटक खोसेको छ।

प्रकाशित: २६ कार्तिक २०८३ १५:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App