चितवन जिल्लामा रहेका एचआईभी एड्सका सङ्क्रमितमध्ये यौन रोग सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ। यहाँ रहेका एचआईभी एड्स सङ्क्रमितमध्ये ३५ जनामा यौन रोग देखिएको पाइएको छ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलका अनुसार विगत १० महिनामा गरिएको एक हजार ४० जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा यौन रोगी भेटिएको हो। उनीहरूलाई भिरिगीं रोग देखिएको छ। उनले असुरक्षित यौन सम्पर्क गर्दा सङ्क्रमितमा यौन रोग बढ्न थालेको बताए।
अस्पतालका अनुसार एड्स सङ्क्रमितमध्ये सात जनामा क्षयरोग देखिएको छ। त्रियानब्बे जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा यो रोग देखिएको हो। जिल्लामा हाल एक हजार दुई सय ४३ जना एड्स सङ्क्रमित रहेका छन्। जसमध्ये ३४ जनाले माडीको बघौडा अस्पतालबाट औषधि सेवन गरिरहेका छन् भने एक हजार २०९ जनाले भरतपुरमा रहेको एआरटी सेन्टरबाट औषधि सेवन गर्दै आएका छन्।
विगत १० महिनामा जिल्लाका विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा ६६ जना नयाँ सङ्क्रमित भेटिएको पौडेलले जानकारी दिए। दुई सय ८५ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा एड्स सङ्क्रमित भेटिएको उनले बताए। उनले यस अवधिमा भरतपुर अस्पतालको एआरटी सेन्टरमा औषधि सेवनका लागि १०४ जना बिरामी थपिएको बताए। यहाँ थपिएका नयाँ सङ्क्रमितसहित अन्य जिल्लाबाट स्थानान्तरण भएका बिरामीहरू पनि यहाँबाट सेवा लिइरहेका छन्।
भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेसनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार यहाँबाट औषधि खाँदै आएका ६५ जना बिरामी स्थानान्तरण भएका छन्। अठ्ठाइस जनाले औषधि सेवन गर्न छाडेको उनले जानकारी दिए। यहाँ रहेका सङ्क्रमितमध्ये १३ जनाको मृत्यु भएको उनले बताए। एड्स रोग लागेका सङ्क्रमितलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन नसकेको उनले बताए। सङ्क्रमितहरूलाई उपचारका लागि अस्पताल ल्याउनका लागि एम्बुलेन्सहरूले पनि गाह्रो मान्ने गरेको उनको भनाइ छ। रासस
प्रकाशित: १५ मंसिर २०८२ १०:४७ सोमबार