समाज

१२८ मेगावाट क्षमताको तमोर-मेवा जलविद्युत आयोजनाको भूमिगत उत्खनन कार्य सुरु

ताप्लेजुङस्थित तमोर नदीको पानी उपयोग गरेर बनाइने १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाको सुरुङ निर्माण कार्य सुरु भएको छ।

आयोजनाका लागि आवश्यक पर्ने करिब ५ किलोमिटर लामो सुरुङ मार्ग निर्माण गर्न पहिलो पटक ब्लाष्टिङ गरिएको छ। ‘सुरुङ निर्माणका लागि आवश्यक पर्ने ब्लाष्टिङसहितका कार्य अब नियमित भइरहने आयोजनाको प्रवर्द्धक संस्था स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष तथा सञ्चालक भानेन्द्रकुमार लिम्बूले बताए।

आयोजनाले अहिलेसम्म करिब ३० प्रतिशत काम सम्पन्न भएको बताएको छ। अन्य कुनै कारणले आयोजनाको निर्माणमा अवरोध नपुगे २०८५ साल असोज २५ भित्रमा जलविद्युत उत्पादन हुने गरी कामको गतिलाई तीव्रता दिइएको लिम्बूले जानकारी दिए। आयोजनाको स्विचयार्ड र पावर हाउस बाहिर हुने छ भने अरु सबै संरचना भूमिगत (अण्डर ग्राउण्ड) हुने लिम्बूले जानकारी दिए।

पावर हाउस, इन्टेक लगायतका संरचनाका आधारभूत पूर्वाधार, मुख्य कार्यालय, कर्मचारी आवास भवन, कामदार आवास भवन सहितका संरचना पूरा भएको र आयोजनास्थलमा पुग्ने मुख्य सडक समेत ग्राभेल तहको पूरा भईसकेको उनले जानकारी दिए। आयोजनाको कुल लागत २३ अर्ब हुनेछ। त्यसमध्ये बैंक तथा बित्तीय संस्थाको ऋण लगानी ७५ प्रतिशत बाँकी २५ प्रतिशत स्वपुँजी (ईक्विटी) हुने छ। अहिलेसम्म भएका सबै संरचनाको काम स्वपुँजीबाट गरिँदै आएको समेत उनले जानकारी दिए। अन्य जलविद्युत आयोजना भन्दा यो आयोजना सस्तो दरमा हुने बताउँदै लिम्बूले आयोजनाबाट उत्पादन हुने विद्युतको प्रति मेगावाट लागत १८ करोड भन्दा कम हुने जानकारी दिए।

आयोजनाका लागि सिद्धार्थ बैंक लिमिटेडको अगुवाइ र माछापुच्छ्रे बैंकसँगको समन्वयमा विभिन्न बैंकहरूले लगानी गर्नेगरी सम्झौता भइसकेको छ। सिद्धार्थ बैंक र माछापुच्छ्रे बाहेक कृषि विकास बैंक लिमिटेड, नेपाल एसबीआई बैंक लिमिटेड, ज्योति विकास बैंक लिमिटेड, आईसिएफसी फाइनान्स लिमिटेड, नेपाल फाइनान्स लिमिटेड र गुडविल फाइनान्स लिमिटेड लगानी साझेदार बैंकको रूपमा रहने भएका छन्। आयोजना निर्माणका लागि २०८१ साल जेठ १० गते शिलान्यास भई कार्य प्रारम्भ भएको हो।

स्पार्कले २०७७ साल असोज २५ गते विद्युत विकास विभागबाट विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरेको हो। २०८० साल असोज २४ गते स्पार्कले नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिद बिक्री सम्झौता(पिपीए)गरेको थियो। आयोजनाबाट उत्पादन भएको विद्युत मैवाखोलाको ढुङगेसाँघुस्थित विद्युत सवस्टेशनमा गरी राष्ट्रिय प्रसारण लाइनमा समाहित गरिने छ। विद्युत प्रसारण लाइनका लागि आईईईको कार्य भइरहेको छ।

केन्द्रीय विद्युत प्रसारण लाइनमा समाहित गर्ने प्रकृयामा भूमिगत तारबाट प्रसारण लाइनसम्म पुर्याउनेबारे प्राविधिक अध्ययन भइरहेको लिम्बूले जानकारी दिए।

प्रकाशित: २१ श्रावण २०८३ १०:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App