समाज

लागुऔषध कारोबारीलाई जोगाएको आरोपमा छानबिन सुरु

जसपा नेपालका प्रदेश अध्यक्ष अशोक यादव र नेपाल प्रहरीका एसपीबिचको विवाद समाधान नहुँदै लागुऔषध कारोबारीलाई जोगाएको आरोप प्रहरीमाथि थपिएको छ। लागुऔषध कारोबारीलाई जोगाएको आरोपमा प्रदेश प्रहरी कार्यालय जनकपुरले सर्लाहीमा छानबिन थालेपछि आरोप थपिएको हो।  

जिल्ला प्रहरी कार्यालय सर्लाही मातहतमा रहेका युनिट इन्चार्जहरूको संलग्नतामा देखिएको तस्करी, अनियमितता, लापरबाहीजस्ता घटनाले सर्लाही प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। पछिल्लो चरणमा लागुऔषध बरामदपछि कारोबारीलाई छाडेको तथा कारोबारीलाई भरिया बनाएर मुद्दा दायर गरेको आरोपमा मधेस प्रदेश प्रहरी कार्यालयले अनुसन्धान सुरु गरेको हो।  

सर्लाहीमा पछिल्लो समय शान्तिसुरक्षा, राजस्व चोरी तस्करी नियन्त्रणका कुरा टाढा जाओस्, सीमा सुरक्षाभन्दा बढी कमाउ धन्दामा केन्द्रित रहेको आरोप प्रहरीमाथि लागेको छ। गत चैत २६ मा इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले ठूलो परिमाणमा लागुऔषध कारोबारीसहितलाई पक्राउ गरेको विषय छानबिनमा परेको छ। प्रहरी प्रतिवेदनका आधारमा जिल्ला अदालत मलंगवामा बुझाएको अभियोगपत्रमा समावेश एक प्रतिवादीको बयानले प्रहरी निरीक्षक तामाङको कार्यशैलीमाथि शंका उठेको छ।  

२०८१ चैत २४ मा सर्लाही जिल्ला हरिवन नगरपालिका–३ डाबरीटोलका मानबहादुर घिसिङलाई सात सय थान प्रतिबन्धित लागुऔषध कोरेक्स प्रहरीले बरामद गर्यो, तर सर्लाही प्रहरीले अनुसन्धान कमजोर गर्दै मुख्य आरोपीहरूलाई बचाउँदै जिल्ला अदालत मलंगवामा पेस गरेको अभियोगपत्रमा चार सय अट्ठावन बोतल उल्लेख गरेको देखिएको छ। सो मुद्दामा प्रतिवादी सर्लाही हरिवन नगरपालिका–३ डाबरी टोलका ३७ वर्षीय मानबहादुर घिसिङले अदालती बयानमा आफू भरिया मात्र भएको र यसका मालिकसहित बरामद लागुऔषध प्रहरीले लुकाएको बयान जिल्ला अदालतका चार नम्बर न्यायाधीश विष्णु रेग्मीको इजलासमा गरेपछि प्रहरी निरीक्षक किशोर तामाङमाथि अनियमितताको आरोप लागेको हो।  

प्रहरी निरीक्षक तामाङलाई लागुऔषध कारोबारीले नै सुराकी दिएको थियो। सुराकीको योजनामा प्रहरी निरीक्षक तामाङले कम परिमाणमा अदालतमा लागुऔषध विवरण देखाएको आरोप छ। उनिमाथि मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका डिएसपी विजय यादव नेतृत्वको टोलीले छानबिन थालेको प्रहरी स्रोतको भनाइ छ।  

प्रहरी निरीक्षक तामाङलाई प्रहरी प्रधान कार्यालय काठमाडौंले जिल्ला प्रहरी कार्यालय धनकुटा सरुवा गर्दै उनको स्थानमा प्रहरी वृत बौद्धका प्रहरी निरीक्षक चन्द्र अधिकारीलाई सरुवा गरेको छ। यस विषयमा सर्लाही प्रहरी प्रवक्ता डिएसपी सरोज राईले अनुसन्धानको विषय भएकाले अहिले केही बोल्न उपयुक्त नहुने बताउँदै अनुसन्धान सकिएपछि जानकारी गराउने बताए। ‘अनुसन्धान चलिरहेको छ, अनुसन्धान सकिएपछि जानकारी दिन्छौं,’ उनले भने।  

यस्तो छ कारोबार अवस्था 
हरिवन नगरपालिका–३ डाबरी भएर ठूलो परिमाणमा लागुऔषध लिएर आइरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङको मोबाइलमा गत चैत २६ मा फोन आयो। प्रहरी निरीक्षक तामाङले आफ्नो टोलीसहित सुराकीले दिएको स्थानमा पुग्दा ना २४ प ६९०३ नम्बरको मोटरसाइकल चलाइरहेका स्थानीय ३६ वर्षीय मानबहादुर घिसिङलाई सात सय पिस कोरेक्स, ओनरेक्स र विनेक्रक्स प्रतिबन्धित लागुऔषधसहित नियन्त्रणमा लिएका थिए।  

मोटरसाइकलसहित घिसिङलाई प्रहरीले नियन्त्रणमा लिई हिरासतमा राखी अनुसन्धान सुरु गरे। सूचना दिने डाबरी गाउँका कुख्यात लागुऔषध कारोबारी धिरेन्द्रबहादुर थिङ थिए। प्रहरी निरीक्षक तामाङले दुई सय बयालिस पिस लागुऔषध लुकाएर घिसिङबाट चार सय अट्ठावन पिस मात्र लागुऔषध बरामद भएको कागजात तयार गरेर कारबाही प्रक्रिया सुरु गरेको पक्राउ परेका घिसिङको उजुरीमा उल्लेख छ।  

घिसिङलाई हिरासतमा अनुसन्धानका क्रममा प्रहरी निरीक्षक तामाङले कुटपिट गरेर अन्य संलग्न व्यक्तिको नाम पोल्न लगाएको आरोप छ। यसमा स्थानीय फेकन साह तेली, अजय मण्डल र गोलमोल भन्ने अमित जयसवालको नाम भनेका थिए। प्रहरीले चारजना प्रतिवादी बनाएर मुद्दा जिल्ला अदालतमा गत असार १३ मा पेस गरेका थिए। यसमध्ये फेकन साह महोत्तरीको बर्दिबासमा लागुऔषध ओसारपसारकै क्रममा पक्राउ परिसकेका छन्।  

असार १३ मा इलाका प्रहरी कार्यालयले मानबहादुर घिसिङसहितका व्यक्तिका नाममा किटान गरेर जिल्ला सरकारी वकिलको कार्यालयमा अभियोजन पत्र दर्ता गराएपछि असार १७ मा मानबहादुर घिसिङलाई पुर्पक्षका लागि सर्लाही जिल्ला मलंगवा कारागार चलान गरिएको छ।  

यसैबिच मानबहादुर थिङकी श्रीमती मञ्जुकुमारीले लागुऔषध कारोबारीलाई प्रहरीले जोगाएर भरिया काम गर्ने श्रीमानलाई फसाएको आरोपमा अनुसन्धान सूक्ष्म तरिकाले हुनुपर्ने माग गर्दै जिल्ला प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यालयमा उजुरी गरेपछि वास्तविकता बुझ्दै जाँदा हरिवनका प्रहरी निरीक्षक तामाङको जिम्मेवारी खोस्दै जिल्ला प्रहरी कार्यालय मलंगवामा शनिबार दिनभर अनुसन्धान गरियो।  

त्यसपछि तामाङलाई बिना कारबाही धनकुटा सरुवा गरियो। अदालतमा हरिवनका इन्स्पेक्टर तामाङ र सूचना दिने धिरेन्द्रबहादुर थिङबिच पटकपटक संवाद भएको र उक्त कार्यमा धीरेन्द्रसहित श्यामप्रसाद थिङ, पदमाकुमारी थिङको नाम आएपछि अदालतले तीनैजनाविरुद्ध पक्राउ पुर्जी जारी गर्न र मुद्दा पुनः अनुसन्धान गर्न आदेश गरेपछि मुख्य अभियुक्त फरार भएको स्रोतले बतायो।  

स्रोतका अनुसार एक महिनाअघि इन्स्पेक्टर तामाङ र कारोबारी पदमाकुमार थिङबिच हरिवन चौकमै कुराकानी भएको घिसिङकी श्रीमतीले दिएको उजुरीमा उल्लेख छ। गत पाँच दिनअघि प्रदेश प्रहरी कार्यालय जनकपुरधामका डिएसपी विजय यादवले सर्लाही आएर अनुसन्धान सुरु गरेका छन्।  

यस्तै असार २० मा जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्का र मधेस प्रदेशका जसपा अध्यक्ष अशोक यादवबिचको शान्तिसुरक्षासम्बन्धी विवादको अडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। प्रहरी उपरीक्षक खड्कालाई मोबाइल फोनमै मधेस प्रदेशका पूर्व सदस्य रहेका यादवले तिमीहरू मधेस लुट्न आएको संज्ञा दिँदै भएको विवादले दुई सातादेखि सदरमुकाम मलंगवामा यादव पक्षधर आन्दोलन गर्दै आएका छन्।  

यता चार बोरा चिनी, चार बोरा मटर, दुई बोरा दालजस्ता सामान प्रहरीले बरामद गरेपछि सर्लाही त्रिभुवननगरका व्यवसायी बबिता र ब्रह्मपुरी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक मनोज यादवबिच मासिक रकम बुझाएर पाएको अनुमति समयभित्र बरामद गरेको भन्दै छुटाइदिन गरेको आग्रहको अडियो रेकर्ड सार्वजनिक भएको छ।  

प्रहरी र व्यवसायीबिच मासिक सेटिङमा तस्करी भइरहेको स्पष्ट संकेत अडियोमा देखिन्छ। यस्तै गत असार २ मा तस्करी गर्न छुट दिएबापत पाउनुपर्ने अठार हजार रकम नपाएपछि इलाका प्रहरी कार्यालय हिरापुरका प्रमुख प्रहरी नायब निरीक्षक वैद्यनाथ दासले भारतबाट तस्करीका सामान ल्याउने राजीव यादवबिचको रेकर्ड सामाजिक सञ्जालमा भाइरल बनेपछि सर्लाहीमा भारतीय नाकाबाट तस्करी भएको प्रमाणित भएको छ। सीमा नाका भएका सर्लाहीका प्रहरी चौकीमार्फत भएको तस्करीको सेटिङको रकम माथिल्लो तहसम्म पुग्ने गरेको आरोप छ।  

असार २० मा जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्का र मधेस प्रदेशका जसपा अध्यक्ष अशोक यादवबिचको शान्तिसुरक्षासम्बन्धी विवादको अडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। असार २ मा तस्करी गर्न छुट दिएबापत पाउनुपर्ने अठार हजार रकम नपाएपछि इलाका प्रहरी कार्यालय हिरापुरका प्रमुख प्रहरी नायब निरीक्षक वैद्यनाथ दासले भारतबाट तस्करीका सामान ल्याउने राजीव यादवबिचको रेकर्ड सामाजिक सञ्जालमा भाइरल बनेपछि सर्लाहीमा भारतीय नाकाबाट तस्करी भएको प्रमाणित भएको थियो। अहिले उनलाई मधेस प्रदेश प्रहरी कार्यालयले कारबाही अघि बढाएको छ।

प्रकाशित: ७ श्रावण २०८२ १९:२६ बुधबार

Nagariknews Nepalinews Sarlahi