समाज

वेग थेग्न नसक्दा पक्की पुल पनि बगे

सीमापारि तिब्बतबाट भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले ४१  वटा पुल बगाएको छ भने तीनवटामा क्षति पुर्‍याएको छ। बाढी प्रभावित रसुवागढीदेखि मुगलिनसम्म ६३ वटा पुल रहेको तथ्यांक छ। जसमध्ये १९ वटा मात्र बाढीबाट जोगिएका छन्।

पक्की भनिएका र आधुनिक किसिमबाट डिजाइन गरिएका पुललाई समेत बाढीले बगाएको छ। केही पुलको त नामोनिसान छैन। यस विषयमा सडक विभागले संक्षिप्त प्रतिवेदन तयार गरेको छ।

उच्च बेगको बाढीले अनुमान गरिएभन्दा धेरै मिटरमाथिका पुल बगाएको छ। विज्ञका अनुसार बाढीको बहाव अनुमान गरिएभन्दा धेरै माथिको उचाइमा पुगेको र तीब्र भएकाले केही पुललाई एक  

झट्कामै बगाएको छ। बाढीमा पानी मात्र नभई ठुलाठुला ढुंगा, गेग्रानसहितको लेदो मिसिएको थियो। त्यसले पुल सजिलै भत्कायो। ‘नदी छेउका सडकभन्दा धेरै उचाइमा रहेका पुल मात्र जोगिएका छन्।

नदी सतहभन्दा केही थोरै उचाइमा रहेका पुल भने सबै बगेका छन्,’ सडक विभागका महानिर्देशक डा. विजय जैशीले भने, ‘अब पुल निर्माण गर्दा नदी सतहभन्दा निकै माथिबाट बनाउनु पर्ने भएको छ।’ विज्ञका अनुसार अब जोखिमयुक्त ठाउँ विशेषगरी हिमाली क्षेत्रका खोलामा पुल निर्माण गर्दा डिजाइनमै परिवर्तन गर्नुपर्छ।

पुल कहाँ जोगिए, कहाँ भत्किए?

सडक विभागले तयार पारेको स्थलगत प्राविधिक प्रतिवेदनअनुसार भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा रहेका ६३ वटा पुलमध्ये ४१ वटा बाढीमा बगे। बाढीको तीव्र धक्काका कारण ३ वटा पुल संरचनात्मक रूपमा क्षतिग्रस्त भएका छन्। १९ वटा पुल जोगिएका छन्। प्रतिवेदनअनुसार बाढीले चीनसँगको प्रमुख व्यापारिक जीवनरेखा मानिएको राष्ट्रिय राजमार्ग तथा स्थानीय सहायक मार्गहरूलाई तहसनहस पारेको छ।

रसुवाको बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेंसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त छ। रसुवामा मात्र ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त छ। प्रतिवेदनअनुसार यो रणनीतिक खण्डमा सडक विभाग मातहतका ५३ वटा र निजी जलविद्युत् आयोजना तथा स्थानीय निकाय मातहतका १० वटा गरी ६३ वटा पुल थिए।

विभागअन्तर्गतका ५३ वटा पुलमध्ये ३२ वटा बाढीले बगाएको छ, ३ वटा क्षतिग्रस्त अवस्थामा छन् र १८ वटा जोगिएका छन्। यसैगरी जलविद्युत आयोजना र अन्य निकायले निर्माण गरेका १० वटा पुलमध्ये ९ वटा पूर्ण रूपमा बगेका छन् भने एउटा जोगिएको छ। बाढीका कारण रसुवा जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ र यहाँका २७ वटा पुलमध्ये २२ वटा बाढीसँगै बगेका छन्।

नेपाल र चीन जोड्ने रसुवागढीस्थित मितेरी पुल बाढीले पूर्ण रूपमा बगाएपछि उत्तरी सीमा व्यापार अनिश्चित बनेको छ। मितेरी पुलसँगै रसुवाको टिमुरे क्षेत्रमा रहेका टिमुरे १ र टिमुरे २ का दुवै बेलीब्रिज बाढीमा विलाए।

राष्ट्रिय राजमार्गअन्तर्गत ४० मिटर लामो घट्टे खोला, ३० मिटर लामो फेनलुङ र २० मिटर लामो कुलुङका पक्की पुलहरू पनि तीव्र बहावका कारण बगेका छन्। रसुवाकै चिलिमेस्थित भोटेकोसी पक्की पुल र १०० मिटर लामो रुंगा खोलाको चिलिमे पुल पनि बाढीले सोहोरेको छ।

स्याफ्रुबेंसीमा रहेको जलविद्युत् आयोजनाको बेलीब्रिज र स्थानीय आवागमनको मुख्य आधार मानिएको ८६ मिटर लामो स्याफ्रुबेंसी पक्की पुलसमेत बाढीसँगै बगेपछि माथिल्लो भेगको सम्पर्क पूर्ण रूपमा टुटेको छ।

निजी क्षेत्र र जलविद्युत् आयोजनाले निर्माण गरेका पहुँचमार्गका संरचनाहरूमा पनि बाढीले क्षति पुर्‍याएको छ। त्रिशूली २१६ आयोजनाको अडिट १ स्थित बेलीब्रिज, हाकु १ र हाकु २ का दुवै बेलीब्रिज, माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको बेलीब्रिज तथा मैलुङ बजारको बेलीब्रिज बाढीले बगाएको छ।

सडक विभाग मातहतका ३५ मिटर लामो हाकु खोला पुल, ४० मिटर लामो विमली खोला पुल, १० मिटर लामो क्रसिङ ०+७०० पुल, ६० मिटर लामो मैलुङ चिपलेटी स्टिल आर्च पुल, त्रिशूली–३‘ए’ बाँधका दुईवटा पुल र २५ मिटर लामो बाहुबली झरना पुल सबै बाढीले बगाएको छ।

रसुवा जिल्लामा जोगिएका ५ वटा पुलको अवस्था भने स्थलगत रूपमा पुग्न नसकिएका कारण हवाई निरीक्षणबाट यकिन गरिएको छ।

हवाई निरीक्षणका क्रममा २० मिटर लामो सानो भार्खु आरसिसी पुल, १५ मिटर लामो ठुलो भार्खु आरसिसी पुल, २० मिटरको त्रिशूली खोला प्रिस्ट्रेस्ड पुल र ३५ मिटर लामो ठाडे खोला प्रिस्ट्रेस्ड पुल सुरक्षित रहेको पाइएको छ। यसबाहेक ५०+३०० चेनेजमा रहेको १० मिटरको ठाडो खोला पुल पनि जोगिएको छ।

रसुवा र नुवाकोट सीमा क्षेत्र तथा नुवाकोट जिल्लामा रहेका २२ वटा पुलमध्ये १५ वटा बाढीले बगाएको छ। एउटा पुल पुरिएर क्षतिग्रस्त बनेको छ भने ६ वटा जोगिएका छन्।

दुई जिल्ला जोड्ने सीमा क्षेत्रको खाल्टेस्थित ५० मिटर लामो नयाँ स्टिल आर्च पुल बाढीले बगाएको छ। बेत्रावतीस्थित ७० मिटर लामो पुराना र नयाँ दुवै पक्की पुल बाढीको तीव्र चाप थेग्न नसकेर ढलेका छन्।

नुवाकोट खण्डमा पर्ने तुप्चेस्थित १०० मिटर लामो त्रिशूली नदीको पुल, त्रिशूली बजारका पुराना र नयाँ दुवै ६० मिटर लामा पक्की पुल तथा सिमचौरस्थित १०० मिटर लामो त्रिशूली पुल पूर्ण रूपमा बगेका छन्।

मध्यपहाडी लोकमार्गअन्तर्गत देवीघाट नजिकको त्रिशूली नदी पुल, देवीघाटस्थित ५५ मिटर लामा पुराना र नयाँ दुवै ताँदी खोला पुल तथा देवीघाटको जलस्रोत तथा सिँचाइ डिभिजन नजिकको झोलुंगे पुलसमेत बाढीले बगाएको छ।

यसबाहेक नुवाकोटकै खड्गभञ्ज्याङ श्रीखली सडकअन्तर्गतको १८० मिटर लामो त्रिशूली पुल, १४० मिटर लामो बुद्धसिंघाट पुल, १५० मिटर लामो रातमाटे पुल र केउरिनी फोस्रेटारको त्रिशूली नदी पुल पनि बाढीमा विलीन भएका छन्।

चेनेज १३+२६० मा रहेको २० मिटर लामो ठुलो खोला प्रिस्ट्रेस्ड पुल भने बाढीले पुरेको छ। यस खण्डका सुकौरे खोला, धोबी खोला, गुन्द्रे खोला, वीरे खोला, गेर्खु खोला र झाँगर खोलाका आरसिसी तथा प्रिस्ट्रेस्ड पुलहरू भने जोगिएका छन्।

धादिङ खण्डमा रहेका ११ वटा पुलमध्ये ५ वटा बगेका छन् भने २ वटा क्षतिग्रस्त छन्। यो खण्डका ४ वटा पुल जोगिएका छन्। गल्छीमुनिको बैरेनी स्यालटार सडक जोड्ने १५० मिटर लामो पुल, १२० मिटर लामो जरेबगैंचा पुल, २०० मिटर लामो घाटबेंसी पुल र मलेखुस्थित ११८ मिटर लामो फुर्के खोला त्रिशूली पुल बाढीले बगाएको छ।

धादिङमै पर्ने कोल्पु खोलाका पुराना र नयाँ दुवै पुल क्षतिग्रस्त भएका छन्। विशेषगरी २+५२० चेनेजमा रहेको ४० मिटर लामो कोल्पु खोलाको नयाँ प्रिस्ट्रेस्ड पुल बाढीको तीव्र धक्काका कारण मूल जगबाट तल्लो तटीय दिशातर्फ सरेको छ।

पुलको जग सरे पनि हाल जोखिमपूर्ण रूपमा सञ्चालनमै राखिएको छ। धादिङकै भीमढुंगा लामिडाँडा सडकको त्रिशूली पुल, महेश खोला पुल, मस्टार त्रिशूली पुल, बेनीघाट पुल र फिस्लिङ गोरखा जोड्ने पुल बाढीबाट जोगिएका छन्।

नदीको तल्लो तटीय क्षेत्रमा पर्ने चितवन जिल्लाका पुल भने बाढीबाट जोगिएका छन्। चितवन खण्डमा रहेका ३ वटै पुल सुरक्षित अवस्थामा छन्। चुम्लिङटारस्थित त्रिशूली जलविद्युत् आयोजनाको बेलीब्रिज, मुग्लिनस्थित १६० मिटर लामो आधुनिक मुग्लिन आर्च पुल र पुरानो मुग्लिन झोलुंगे पुललाई बाढीले छोएन।

पुलको संरचनागत प्रकृतिका आधारमा हेर्दा बाढीमा बेलीब्रिजहरू सबैभन्दा बढी कमजोर साबित भएका छन्। सूचीकृत १० वटा बेलीब्रिजमध्ये चितवनको चुम्लिङटारबाहेक बाँकी ९ वटै बाढीमा बगेका छन्।

नदी वारपार गर्न बनाइएका मैलुङ चिपलेटी र खाल्टेका दुवै आधुनिक स्टिल आर्च पुल पनि बाढीको तीव्र बेग थेग्न नसकी ढलेका छन्। सहायक खोलाहरूमा बनेका साना आरसिसी र प्रिस्ट्रेस्ड पुलहरू जोगिए पनि मूल नदीमा रहेका लामा स्पानका स्थायी पक्की संरचनालाई बाढीले सोहोरेको छ।

उत्तरी व्यापारिक मार्ग रसुवागढी पूर्ण रूपमा विच्छेद हुनुका साथै गल्छी–स्याफ्रुबेंसी सडक क्षतविक्षत बन्दा आपूर्ति व्यवस्था, जनजीवन र जलविद्युत् क्षेत्रमा ठुलो धक्का पुगेको छ।

प्रकाशित: २५ भाद्र २०८३ ०७:५४ बिहीबार