समाज

बाँकेका सिडिओलाई एमाले नेता धितालको धम्की

नेकपा एमाले बाँकेका एक नेताले बाँकेका सिडिओविरुद्ध विवादास्पद अभिव्यक्ति दिएका छन्।

एमाले बाँकेका नेता प्रमोद धितालले बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङविरुद्ध सामाजिक सञ्जालमा आक्रोशपूर्ण अभिव्यक्ति दिएका हुन्। बाँके प्रशासनले अहिले निर्वाचन आचारसंहिता पालना गर्न दल, उम्मेदवार, सन्चारमाध्यम लगायतलाई कडाइ गरिरहेको छ।

धितालले सामाजिक संजालमा लेखेका छन्, 'तैले कांग्रेसको पाेष्ट हेरनस सिडिओ? चुनावपछि हेर तेराे औकात।' नेता धितालले सामाजिक संजालमा पटक-पटक विभिन्न व्यक्तिलाई लक्षित गरेर यसरी नै विवादास्पद अभिव्यक्ति दिँदै आइरहेका छन्। आफ्नो अभिव्यक्ति विवादित बनेपछि धितालले अहिले फेसबुक स्टाटस हटाइसकेका छन्। बाँके प्रशासनले धिताललाई नियन्त्रणमा लिने तयारी गरिरहेका बेला उनले स्टाटस हटाएको बताइएको छ। विवादास्पद अभिव्यक्ति दिने नेता धिताल एमालेको समानुपातिक उम्मेदवार विजया धितालका पति हुन्।

बाँकेका प्रमुख जिल्ला अधिकारी तामाङले राष्ट्र सेवक कर्मचारीमाथि निर्वाचनको विषयलाई लिएर सार्वजनिक टिप्पणी गर्नु दु:खद भएको भन्दै एमाले नेता धितालले आफ्नो स्टाटस आफैँ हटाइसकेको प्रतिक्रिया दिए। 'अहिले उहाँले आफ्नो स्टाटस हटाइसक्नु भएको छ, उहाँमा हल्का स्वास्थ्य सम्बन्धी समस्या रहेछ, हामी निर्वाचनलाई निष्पक्ष रूपले सम्पन्न गर्ने तयारीमा छौं,' प्रजिअ तामाङले नागरिकसँग भने।

यता, मौन अवधि सुरु भसइके पनि आचारसंहिता पालना नभएको भन्दै निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको कार्यालय बाँकेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मौन अवधिमा पालना गर्नुपर्ने आचरणको सम्बन्धमा जानकारी हुँदाहुँदै कतिपय राजनीतिक दलका पदाधिकारी, कार्यकर्ता, उम्मेदवारका सम्बन्धित व्यक्ति एवं केही सञ्चार माध्यमले सामाजिक सञ्जाल र अनलाइन मार्फत मतपरिणामको सर्भेक्षण, मिथ्या सूचना प्रवाह, द्वेष अभिव्यक्ति र प्रचारप्रसार गरिरहेको भन्दै कार्यालयले ध्यानाकर्षण भएको जनाएको हो।

बाँकेका निर्वाचन आचारसंहिता अनुगमन अधिकृतद्वय पूर्णबहादुर खत्री र सर्वोदय उपाध्यायले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएका हुन्। ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘अतः मौन अवधिमा पालना गर्नुपर्ने विशेष आचरण अक्षरसः पालना गर्नुहुन सम्बन्धित सबैमा पुनः हार्दिक अपिल गर्दछौं। साथै मतदानको पूर्वसन्ध्यामा पटक-पटक जारी गरिएका सूचना र अपिलको अवज्ञा गर्दै आचारसंहिता उल्लंघन गर्ने व्यक्ति वा उम्मेदवारलाई प्रचलित निर्वाचन सम्बद्ध कानुन बमोजिम कारबाही भइ जाने व्यहोरा समेत अनुरोध छ।’

प्रकाशित: २० फाल्गुन २०८२ १४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App