भोटेकोशी बाढी प्रभावितलाई संयुक्त अरब इमिरेट्स (युएई)ले थप दुई करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ।
न्युयोर्कमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा परराष्ट्रमन्त्री शिशिर खनाल र युएईका उपप्रधानमन्त्री तथा विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यानबिच भएको द्विपक्षीय भेटवार्तामा उक्त सहयोगको घोषणा गरिएको हो।
भेटमा परराष्ट्रमन्त्री खनालले नेपालमा आएको जलवायुजन्य विनाशकारी बाढीबाट प्रभावितका लागि थप आर्थिक सहयोग गर्ने प्रतिबद्धताका लागि युएईलाई धन्यवाद दिएको त्यहाँस्थित स्थायी नियोगले जनाएको छ।
खनालले बाढीबाट प्रभावित नेपाली समुदायप्रति युएईले देखाएको सहानुभूति, ऐक्यबद्धता र मानवीय सहयोगका लागि पनि प्रशंसा गरेका छन्।
भेटमा दुवै पक्षले आपसी हितका विषयमा छलफल गरेका छन्। श्रम, व्यापार, लगानी, पर्यटन, नवीकरणीय ऊर्जा, कनेक्टिभिटी र संयुक्त राष्ट्रसंघभित्रको बहुपक्षीय सहकार्यलगायत क्षेत्रमा नेपाल र युएईबिचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा पनि छलफल भएको संयुक्त राष्ट्रसंघका लागि नेपालको मिसनले जनाएको छ।
युएईले यसअघि एक करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरिसकेको थियो।
प्रकाशित: ११ आश्विन २०८३ ०७:०१ आइतबार