सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा दुई वर्षीया बालिका घरनजिकै मृत फेला परेकी छन्। आइतबार बिहान पौने ११ बजेतिर बालिका मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी रूपक खड्काले जानकारी दिए।
उनका अनुसार बिहान पौने ९ बजेसम्म बालिका घरमै थिइन्। त्यसपछि घरमा नभेटिएपछि खोजी गर्दा घर पछाडिको झाडीमा उनको शव फेला परेको हो।
घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ। प्रारम्भिक रूपमा घटना कर्तव्य ज्यानसम्बन्धी हुन सक्ने देखिएको एसपी खड्काले बताए। घटनाको अनुसन्धानका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
यस्तै शनिबार साँझदेखि हराइरहेकी बारा कलैया उपमहानगरपालिका–१, कट्टीपर्सा निवासी मुकेश मण्डलकी २ वर्षीया छोरी बिन्दी मण्डल आइतबार बिहान कलैया–२६ स्थित सिसवा महेशपुरमा फेला परेकी छन्।
उनको अवस्था भने सामान्य रहेको तर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ७ भाद्र २०८३ १३:२५ आइतबार