रोल्पाको थवाङ गाउँपालिकामा हावाहुरीका कारण ढलेको रूखले च्याप्दा दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा थवाङ गाउँपालिका–२ हेलोवाङकी ६० वर्षीया रुजु झाँक्री र ५० वर्षीया मनबुजी झाँक्री रहेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका अनुसार सोमबार बेलुकी दुवै जना थवाङ आधारभूत अस्पतालमा बिरामी भेटेर घर फर्किने क्रममा हावाहुरीसहित पानी परेको थियो। सोही समयमा बाटोमाथिबाट उत्तिसको रूख ढल्दा उनीहरू च्यापिएका थिए।
घटनामा रुजु झाँक्रीको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते मनबुजी झाँक्रीको उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
रूखले मानिस च्यापिएको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय थवाङबाट प्रहरी निरीक्षक रामचन्द्र बगालेको नेतृत्वमा गएको प्रहरी टोलीले उद्धार कार्य गरेको थियो।
प्रकाशित: १२ जेष्ठ २०८३ १८:१८ मंगलबार