समाज

पन्ध्र किलो अफिमसहित दुई महिला पक्राउ

ठूलो परिमाणको लागूऔषध अफिमसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ। बाँसगढी नगरपालिका–३, उत्तर भकारीस्थित क्षेत्रबाट लागूऔषधसहित दुई महिलालाई आइतबार अपराह्न साढे ४ बजे प्रहरीले पक्राउ गरेको हो।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय मोतिपुरको संयुक्त प्रहरी टोलीले ठूलो परिमाणको लागूऔषधसहित दुई महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका–४, खैरेनीकी ३० वर्षीया सन्ध्या घर्ती मगर र बाँसगढी नगरपालिका–३, लक्ष्मणपुरकी ४२ वर्षीया मीना रोकाया रहेकी छन्।

दुवै जनालाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा घर्ती मगरले बोकेको कालो रंगको झोलाभित्र लुकाइ राखेको अवस्थामा १५ किलो ३ सय ४० ग्राम लागूऔषध अफिमजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

दुवै जनाको साथबाट ३ थान मोबाइलनगद ३४ हजार रुपैयाँ समेत बरामद भएको जनाइएको छ।

लागूऔषध अफिमसहित पक्राउ परेका दुवै महिलालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय मोतिपुर, बाँसगढीमा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जले जनाएको छ।

प्रकाशित: ७ असार २०८३ १९:३३ आइतबार