परीक्षा दिन भनेर विद्यालय गएका दुई विद्यार्थीको नारायणी नदीमा डुबेर मृत्यु भएको छ।
भरतपुर महानगरपालिका-१६ शरणपुरका १४ वर्षीय सनम रम्तेल र सोही ठाउँका १४ वर्षीय प्रशान्त क्षेत्रीको पौडी खेल्ने क्रममा नदीको भँगालोमा डुबेर ज्यान गएको हो।
उनीहरू दुवै जना भरतपुर-३ बाह्रघरेचोकस्थित मुनलाइट बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत थिए।
आइतबार बिहान उनीहरू परीक्षा दिन विद्यालय पुगेका थिए। कक्षाकोठामा झोला राखेपछि दिउँसो १२:५० बजेतिर कलम किन्न भन्दै उनीहरू विद्यालयबाट बाहिर निस्किएका थिए।
तर, कलम किन्नुको साटो उनीहरू नजिकै रहेको नारायणी नदीको भँगालोमा पौडी खेल्न पुगेको खुलेको छ।
बालकहरू नदीमा डुबेको जानकारी पाउनसाथ विपद् व्यवस्थापनको टोली तत्काल घटनास्थल पुगेको थियो। दिउँसो २ बजेको समयमा टोलीले दुवै बालकको उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल पुर्याएको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीका अनुसार अस्पताल पुर्याइएलगत्तै दिउँसो २:४० बजे चिकित्सकले दुवै बालकलाई मृत घोषणा गरेका हुन्।
अहिले प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।
प्रकाशित: १५ चैत्र २०८२ १५:५९ आइतबार