समाज

हिउँ पहिरोमा ज्यान गुमाएका दुई जनालाई काठमाडौं ल्याइँदै

फाइल तस्बिर

मनास्लु हिमालमा हिउँ पहिरोमा पुरिएर ज्यान गुमाएका दुई जनाको शव सोमबार (आज) हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भएको छ।

भारतीय मूलका जर्मनीका नागरिक आरोही ध्रुवज्योति गुहा र उनका आरोहण सहयोगी नेपाली नागरिक फुर्सेम्बा शेर्पाको शनिबार राति हिउँ पहिरोमा पुरिएर ज्यान गएको थियो।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार सुतिरहेको टेन्टमा माथिबाट आएको हिउँ पहिरोले पुरिएर दुवै जनाको ज्यान गएको हो। दुवै जना मकालु एड्भेञ्चर कम्पनी प्रालिबाट मनास्लु आरोहणका लागि गएका थिए।

तेस्रो शिविरमा टेन्टभित्रै करिब सात फिट हिउँले पुरिएर दुवै जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

यससँगै मनास्लुमा यस याममा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ। यसअघि सिंगापुरका आरोही ५० वर्षीय लाउ वी सेङको पनि दोस्रो शिविरमा ज्यान गएको थियो। साथै नेपाली सहयोगी २० वर्षीय टासी शेर्पाको पनि आधार शिविरमा ज्यान गएको थियो।

मनास्लु आरोहणका लागि यस याममा ४८० विदेशी आरोहीले अनुमति लिएका छन्। आरोहणको रोप फिक्सिङ सम्पन्न भइसकेको छ। आरोहीहरू आरोहणको अन्तिम तयारी गरिरहेका छन्।

प्रकाशित: ५ आश्विन २०८३ ०६:४६ सोमबार