समाज

तनहुँमा पिकअपको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका-२ गाछेपानीस्थित पृथ्वीराजमार्गमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको पिकअप भेनले नियन्त्रण गुमाएर स्कुटरलाई ठक्कर दिँदा उक्त हताहती भएको हो।

प्रहरीका अनुसार बा ११ च ७३६५ नम्बरको पिकअप भेनले सडकको बीचमा रहेको डिभाइडर नाघेर विपरीत दिशाबाट गइरहेको ग १९ प २९८८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा स्कुटरमा सवार दुवै जना गम्भीर घाइते भएका थिए।

इलाका प्रहरी कार्यालय बेलचौताराका अनुसार घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि तनहुँ सेवा अस्पताल दुलेगौँडा पठाइएको थियो।

स्कुटर चालकलाई अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए भने पछाडि सवार व्यक्तिको पोखरास्थित जीएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनीहरुको पहिचान खुल्न बाँकी छ।

प्रहरीले दुर्घटनामा संलग्न पिकअप भेन, स्कुटर र पिकअप चालकलाई नियन्त्रणमा लिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ चैत्र २०८२ १९:५३ शनिबार