समाज

सर्लाहीमा दुई दुर्घटना, दुई महिलाको मृत्यु

सर्लाहीका छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा परी दुई महिलाको मृत्यु भएको छ।

जिल्लाको गोडैता नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक वृद्धा र बरहथवा नगरपालिकामा घरको भर्‍याङबाट लडेर अर्की एक महिलाको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार गोडैता नगरपालिका-५ रामवनस्थित भित्री सडकखण्डमा प्रदेश २-०३-००१७ प ७१३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा परी गम्भीर घाइते भएकी स्थानीय ६५ वर्षीया शान्ति देवीलाई तत्काल उपचारका लागि बयोधा अस्पताल वीरगन्ज पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

यसैगरी, बरहथवा नगरपालिका-३ सानो खुरखोटीमा घरको भर्‍याङबाट लडेर ४० वर्षीया सुनिता माझीको ज्यान गएको छ।

घरको भर्‍याङ चढ्ने क्रममा अचानक खसेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि तत्काल न्यूरो अस्पताल बारा पुर्‍याइएको थियो।

अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० भाद्र २०८३ १९:३५ मंगलबार