अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
सोमबार साँझ ७ बजेर ४० मिनेटको समयमा पाणिनी गाउँपालिका वडा नम्बर ३ दुर्घाफाँटमा मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
निगालीबाट दुर्घाफाँट तर्फ आउँदै गरेको ना ३६ प ३५०९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो। मोटरसाइकल चालक पाणिनि गाउँपालिका वडा नम्बर ४ निगाली बस्ने १८ वर्षीय गौतम बिक र पछाडि बसेका २४ वर्षीय सागर बिकको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई तत्काल जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
सोही मोटरसाइकल पछाडि बसेका अर्का २५ वर्षीय सन्तोष घर्ती घाइते भएका छन्। उनलाई थप उपचारका लागि पाल्पा रिफर गरिएको छ।
प्रकाशित: १७ कार्तिक २०८२ २२:११ सोमबार