हुलाकी राजमार्गअन्तर्गत सप्तरीको महदेवा गाउँपालिका–१ चिमटीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
पकरीबाट गएराति बथनाहातर्फ जाँदै गरेको स ०१–००६ प २४९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किर दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय सन्तोष राम र पछाडि सवार ४५ वर्षीय शङ्कर रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा ल्याएकामा सन्तोषलाई तत्काल चिकित्सकले मृत घोषणा गरेको थियो।
घाइते शङ्करलाई थप उपचारको लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगेकोमा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए।
प्रकाशित: १९ श्रावण २०८३ १५:३६ मंगलबार