त्रिभुवन विश्वविद्यालयबाट योग विज्ञान अधिस्नातक (पिजी डिप्लोमा) तहमा उत्कृष्ट भएका दुई विद्यार्थीलाई ललितपुर महानगरपालिकाले पुरस्कृत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि, संस्कृत केन्द्रीय विभागमा आज आयोजित कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले शैक्षिक वर्ष २०७९/८० को पहिलो सेमेस्टरका उत्कृष्ट छात्रा अञ्जु श्रेष्ठ र दोस्रो सेमेस्टरका उत्कृष्ट छात्र सनतकुमार न्यौपानेलाई पुरस्कार प्रदान गरे।
पुरस्कारको राशि जनही ५० हजार र सम्मानपत्र छ। ललितपुर महानगरपालिकाले योग विज्ञान अधिस्नातक अध्ययनका लागि ३० जनालाई पूर्ण छात्रवृत्ति दिएको थियो।
सो अवसरमा नगरप्रमुख महर्जनले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्न पाउँदा आफू गौरवान्वित भएको बताउँदै आगामी दिनमा सहयोगको क्षेत्रलाई फराकिलो बनाउन नगरपालिका तयार रहेको जनाए। योगले मानवजातलाई शारीरिक, मानसिक र आध्यात्मिक उन्नति गराउने विश्वास व्यक्त गर्दै उनले ललितपुर महानगरलाई योगमय नगर बनाउने प्रयास थालिएको जानकारी दिए।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले योग विज्ञान कार्यक्रमका लागि भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर अभिवृद्धिमा आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता जनाए। विश्वविद्यालयले सञ्चालन गरेको योग विज्ञान कार्यक्रमलाई अन्तरराष्ट्रियस्तरको बनाउनुपर्नेमा उनले जोड दिए।
त्रिवि संस्कृत विभागका प्रमुख प्रा. डा. नारायणप्रसाद गौतमले मेहनतबाट विश्वविद्यालयमा योग विज्ञान अध्ययन सुरु भएको बताउँदै शैक्षिक प्रमाणपत्र मात्र नभई व्यावहारिक ज्ञान लिन विद्यार्थीलाई आग्रह गरे। ‘पश्चिमा समुदायले योगलाई जीवन पद्धति बनाइसके, यो हाम्रो पुर्खाले सृजना गरेको विद्या हो, अब नेपालीले योगमा विश्वव्यापी नेतृत्व गर्नुपर्छ,’ उनले भने।
प्राध्यापक एवं योग गुरु डा. क्षितिज बराकोटीले त्रिविले सञ्चालन गरेको योग विज्ञान कार्यक्रमलाई विश्वस्तरको ज्ञान केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै उक्त कार्यक्रमको विकासका लागि थप सहयोग गर्न ललितपुर महानगरसँग आग्रह गरे। उपप्रध्यापक गोविन्द घिमिरेले पूर्वीय निधिका रूपमा रहेको संस्कृत र योगको महत्त्वबारे चर्चा गर्दै यसको प्रवर्द्धनमा ध्यान दिनुपर्नेमा जोड दिए।
उपकुलपति अर्यालले योग शिक्षाको विस्तारमा सहयोग गरेकोमा ललितपुर महानगरप्रमुख महर्जनलाई कदरपत्र प्रदान गरे। सो अवसरमा नेवारी सांस्कृतिक नृत्य, वैदिक मन्त्रोच्चारण, भक्ति सङ्गीत, यौगिक प्रस्तुति, योग आसनात्मक नृत्य प्रस्तुत गरिएको थियो।
त्रिविअन्तर्गतको संस्कृत विभागले २०७५ देखि योग विज्ञान विषय पढाउँदै आएको छ। सुरुआती चरणमा एकवर्षे अधिस्नातक (पिजी) तहको अध्ययन सुरु गरेको विभागले २०७९ देखि योग विज्ञानमा स्नातकोत्तर अध्ययन गराइरहेको छ। रासस
प्रकाशित: ६ भाद्र २०८२ १८:०० शुक्रबार