लुइसियाना टेक युनिभर्सिटीमा अध्ययनरत दुई अन्तर्राष्ट्रिय विद्यार्थीको सडक दुर्घटनामा मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन्। लुइसियाना राज्य प्रहरीले सवारी दुर्घटनाको अनुसन्धान गरिरहेको बताएको छ।
नेपालका २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको शनिबार साँझ करिब ९ बजे सवारी दुर्घटनामा परी ज्यान गुमेको हो।
राज्य प्रहरीका अनुसार यादवले चलाइरहेको गाडीमा ओलीसहित अन्य दुई जना यात्रु सवार थिए। सवारी युएस हाइवे ८० मा भारी वर्षाको क्रममा सडकबाट चिप्लिएर रूखमा ठोक्किएको र त्यसपछि कारमा आगो लागेको थियो।
प्रहरीका अनुसार यादव र ओलीको घटनास्थलमै मृत्यु भएको हो। उनीहरूले सिट बेल्ट लगाएका थिए कि थिएनन् भन्ने कुरा अझै स्पष्ट छैन। कारमा रहेका अन्य दुई यात्रुलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ। एजेन्सी
प्रकाशित: ३१ असार २०८२ ०९:३५ मंगलबार