धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
बिहीबार कमला नगरपालिका–२ स्थित खोक्साहा पुल नजिक नम्बर नखुलेको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकाे हाे। दुर्घटनामा परेर अर्का एक किशोर गम्भीर घाइते भएका हुन्। उनीहरू तीन जना एउटै मोटरसाइकलमा सवार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
मृत्यु हुनेमा धनुषाकै जनकनन्दिनी गाउँपालिका–५ बनरझुलाकम १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र रहेका छन्।
मोटसाइकलको पछाडि सवार साेही ठाउँका १७ वर्षीय राहुल महतो गम्भीर घाइते भएका छन्। उनको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १० आश्विन २०८२ १०:४४ शुक्रबार