समाज

हुलाकी राजमार्गमा दुर्घटना, दुई जनाको मृत्यु

हुलाकी राजमार्गअन्तर्गत कैलाली खण्डमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। 

प्रहरीका अनुसार कैलालीको टीकापुर नगरपालिका–७ झुंगा दाराबोझी चोकमा ट्रक र बोलेरो एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा बोलेरोका सहचालक सल्यानका २३ वर्षीय सञ्जीव ओली रहेका छन्। 

नेपालगञ्जबाट धनगढीतर्फ जाँदै गरेको लु प्र ०२–००१ च ०५४० नम्बरको तरकारी बोकेको बोलेरो र भे १ क ५०१ नम्बरको भेरी ग्यासको सिलिन्डर बोकेको ट्रक एकापसमा ठोक्किएका थिए। 

त्यस्तै, भजनी नगरपालिका–४ बिजुलियास्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्। प्रहरीका अनुसार खोपाबाट जाँदै गरेको से।१ प ७२२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार घोडाघोडी नगरपालिका–१२ की ५६ वर्षीया गुरहनिया चौधरीको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएकी चौधरीको सिएस अस्पताल, सुख्खडमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सुख्खडमा उपचार भइरहेको छ।

प्रकाशित: २० श्रावण २०८३ १०:२५ बुधबार