मौसम खराब भएपछि दुई अन्तर्राष्ट्रिय उडान डाइभर्ट गरिएको छ।
मौसममा खराबी आएपछि कोरियाबाट आएको विमान दिल्ली डाइभर्ट गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार दिल्ली डाइभर्ट गरिएको विमान आज उतै बस्नेछ।
यस्तै दुबईबाट काठमाडौं आएको विमान पनि अवतरण गर्न नसक्ने भएपछि लखनउ पठाइएको छ। मौसममा सुधार आए यो विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने उनले नागरिकन्युजलाई जानकारी दिए।
नेपालका विभिन्न जिल्लाबाट भएका पाँच आन्तरिक उडान पनि काठमाडौंमा अवतरण हुन नसकेपछि भैरहवा विमानस्थल डाइभर्ट गरिएको प्रवक्ता बस्नेतले बताए।
मंगलबार साँझ हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्न थालेपछि विमान अवतरणमा समस्या भएको हो।
प्रकाशित: १७ चैत्र २०८२ १९:४५ मंगलबार