मोरङको रतुवामाईमा लागुऔषध नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले गोली चलाउँदा दुई भारतीय नागरिक घाइते भएका छन्।
लागुऔषध ओसारपसार तथा बिक्रीवितरणमा संलग्न रहेको आशंकामा गरिएको कारबाहीका क्रममा प्रहरीले उनीहरूसहित तीन जनालाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको साथबाट करिब ५०० ग्राम खैरो हेरोइन (ब्राउन सुगर), पेस्तोल र गोली बरामद भएको मोरङ प्रहरीका सूचना अधिकारी डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
उनका अनुसार लागुऔषध ओसारपसार तथा बिक्री भइरहेको सूचनाका आधारमा बिहीबार राति साढे ९ बजेतिर रतुवामाई नगरपालिका–६ शनिश्चरेमा प्रहरी टोली पुगेको थियो। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर, काठमाडौंबाट इन्स्पेक्टर राकेश यादवको नेतृत्वमा आएको टोली र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा भारतीय नम्बरको बीआर ३७ भी ३९२६ नम्बरको मोटरसाइकल र अर्को नम्बर नखुलेको मोटरसाइकलमा सवार तीन जनालाई रोक्ने खोज्दा उनीहरुले प्रहरीलाई देख्ना साथ भाग्न खोजेको डिएसपी मिश्रले बताए।
डिएसपी मिश्रले भने, ‘नियन्त्रणमा लिने क्रममा आरोपितहरूले प्रहरीमाथि नै गोली प्रहार गर्ने प्रयास गरेपछि प्रहरीले प्रतिकारस्वरूप गोली चलाएको थियो। प्रहरीले चाइनिज पेस्तोलबाट पाँच र ब्रेडा पेस्तोलबाट तीन गरी आठ राउन्ड गोली चलाएर उनीहरूलाई पक्राउ गरेको हो।’
प्रहरीको गोली लागेर भारतको अररिया कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक र कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक घाइते भएका छन्। दुवै जनाको घुँडामुनि गोली लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइते दुवैलाई सुरुमा उपचारका लागि झुर्कियास्थित नगर अस्पताल लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।
प्रहरीले घाइते दुवै भारतीय नागरिकसहित मोरङको रतुवामाई नगरपालिका–१ चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुरलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट होममेड पेस्तोल एक थान, त्यसमा प्रयोग हुने गोली एक थान, करिब ५०० ग्राम खैरो हेरोइन र दुईवटा मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ।
घटनाबारे इलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धान गरिरहेको छ। बरामद हतियार र लागुऔषधको स्रोत, ओसारपसारमा संलग्न सञ्जाल तथा घटनामा अन्य व्यक्तिको संलग्नताबारे अनुसन्धान थालेको डिएसपी मिश्रले बताए। पक्राउ परेकाहरू लागुऔषधका नामुद कारोबारी रहेको प्रहरीको भनाइ छ।
प्रकाशित: १३ कार्तिक २०८३ ०९:२९ शुक्रबार