समाज

खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

सिरहामा ३३२ ग्राम खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले सिरहाको मिर्चैया क्षेत्रमा निगरानी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।  

लागूऔषध नियन्त्रण ब्युरोले कात्तिक १२ गते बिहान सिरहा नगरपालिका–१३, मलगनियास्थित क्षेत्रमा भारतको मधुवनीबाट जयनगर नाका हुँदै मोटरसाइकलमा नेपालतर्फ आइरहेका उनीहरूलाई पक्राउ गरेको जनाएको छ। 

प्रहरीका अनुसार भारतको मधुवनी जिल्ला, बेला पञ्चायत–७ निवासी ४४ वर्षीय लालबाबु सिंह र २६ वर्षीय धर्मेन्द्र दास पक्राउ परेका हुन्। उनीहरूलाई रोक्न खोज्दा भाग्न खोजेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरी नियन्त्रणमा लिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। 

उनीहरूको साथबाट ३३२ ग्राम खैरो हेरोइन, भारतीय नम्बर प्लेटको बीआर–३२४ भी ७५७४ नम्बरको मोटरसाइकल र दुई थान मोबाइल बरामद गरिएको छ। 

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।  

प्रकाशित: १२ कार्तिक २०८३ १२:१३ बिहीबार