समाज

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए : एक जना विदेशी नागरिकको मृ*त्यु, एक घाइते

अपडेट

सोलुखुम्बुको लुक्लाभन्दा माथि फेरिचेमा दुईवटा हेलिकोप्टर एकआपसमा ठोक्किएका छन्।

खुम्बु पासाङल्हामु गाउँपालिका-४ फेरिचेमा फिस्टेल एयर र एयर डाइनेस्टिकका दुई हेलिकोप्टरको पंखा आपसमा अवतरण गर्ने क्रममा ठोक्किँदा दुर्घटना भएको हो।

'अहिले अघि ८:११ बजेको समयमा यो खुम्बु पासाङल्हामु गाउँपालिका-४ फेरिचेमा फिस्टेल एयर र डाइनेस्टी एयरको हेलिकप्टरहरू ल्यान्डिङ गर्ने क्रममा एकआपसमा ठोक्कर भएको छ,' जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले नागरिकन्युजसँग भने।

आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

तामाङका अनुसार मृत्यु हुनेमा विदेशी नागरिक हुन् भने उनको परिचय खुल्न सकेको छैन।

घाइते शैलेश किसन पटेललाई उपचारका लागि प्रभु हेलिकोप्टरमार्फत काठमाडौंको नेपाल मेडिसिटी हस्पिटल ल्याइएको उनले नागरिकन्युजलाई जानकारी दिए। उनका अनुसार मृतकको शवलाई लुक्ला ल्याइएको छ।

प्रकाशित: १७ कार्तिक २०८३ ०९:२१ मंगलबार