मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडामा साइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई बालिका घाइते भएका छन्। घाइतेमध्ये एक बालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
हेटौंडा-४ नेपालचोक बस्ने विनोद थापाकी १२ वर्षीया छोरी विशाखा थापाले चलाएको साइकल आइतबार दिउँसो करिब २:२५ बजे कमलडाँडाको ओरालोमा अनियन्त्रित भएर पल्टिएको थियो।
दुर्घटनामा चालक विशाखाको नाक, बायाँ कान र मुखमा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको छ।
साइकल पछाडि सवार सोही ठाउँकी सलिना तामाङकी १३ वर्षीया छोरी आइषा तामाङको टाउकोमा गम्भीर चोट लागेको छ।
दुर्घटनालगत्तै दुवै घाइतेलाई स्थानीयले हेटौंडा अस्पताल पुर्याएका थिए। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि दिउँसो ३ बजे विशाखालाई पुरानो मेडिकल कलेज चितवन र आइषालाई नयाँ मेडिकल कलेज चितवन रिफर गरिएको छ।
प्रकाशित: ७ भाद्र २०८३ १८:१२ आइतबार