दैलेखमा नाताले दिदीबहिनी पर्ने दुई बालिका जंगलमा मृत अवस्थामा फेला परेका छन्। १३ र १४ वर्षका ती बालिकाहरूको शव सोमबार बिहान भगवतीमाई गाउँपालिका–४ स्थित घरनजिकैको जंगलमा भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुवै बालिका गएराति एउटै घरमा सँगै सुतेका थिए। राति घरबाट निस्किएका उनीहरू बिहान घरभन्दा केही पर जंगलमा मृत अवस्थामा फेला परेका थिए।
घटनाको कारण अझै खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायलले घटनाबारे अनुसन्धान सुरु गरिएको र थप विवरण आउन बाँकी रहेको जानकारी दिए।
प्रकाशित: ९ कार्तिक २०८३ १५:१८ सोमबार