समाज

जंगली च्याउ खाँदा एकै परिवारका दुई बालबालिकाको मृत्यु

रुकुम पूर्वमा जंगली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ। जिल्लाको भूमे गाउँपालिका-५ सेराबाङका तीन वर्षीय योजन विक र छ वर्षीया भाग्यरेखा विकको मृत्यु भएको हो।

योजनको मंगलबार दिउँसो र भाग्यरेखाको मंगलबार राति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ। सोही परिवारका अन्य दुई जना भने गम्भीर घाइते छन्। मृतकका आमा ३५ वर्षीया रामकुमारी सुनार र उनकी छोरी नौ वर्षीया आयुषा विकको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ।

यही २ गते जंगलबाट ल्याइएर च्याउ खाएर बिरामी भएकामा साउन ५ गते मात्र रुकुम पूर्व अस्पतालमा आएका थिए। अस्पतालमा उपचार हुन नसकेपछि सबैलाई जिल्ला अस्पतालले ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाएको थियो। दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ भने बाँकी दुई जनालाई नेपालगञ्ज भेरी अस्पताल पठाइएको छ। रासस

प्रकाशित: ७ श्रावण २०८२ १३:१५ बुधबार

#NagarikNews #NepaliNews