समाज

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता, ८० मिटर गहिरो खोँचमा ‘रोप रेस्क्यु’ टोली परिचालन

पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर बेपत्ता भएका दुई बालकको अवस्था दोस्रो दिन पनि अज्ञात रहेको छ। सुरक्षा निकायले गोताखोरसहित ‘र्‍याप्लिङ क्लाइम्बिङ’ र ‘रोप रेस्क्यु’ विधि प्रयोग गरी खोजी तीव्र पारे पनि उनीहरूको पत्तो लाग्न सकेको छैन।

स्याङ्जा स्थायी घर भई हाल पोखरा–१४ छिनेडाँडा बस्ने १४ वर्षीय निक्सन गुरुङ र चाउथे बस्ने १५ वर्षीय ओमन राई शनिबार दिउँसो १:२० बजे खोला तर्ने क्रममा बगेका थिए।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं २४ गण हेडक्वार्टर कालिकाबाट सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको कमान्डमा पाँच जना गोताखोरसहितको विशेष विपद् व्यवस्थापन टोली परिचालन गरिएको छ।

टोलीले घटनास्थलबाट करिब दुई किलोमिटर तल रहेको पक्की पुलबाट ‘र्‍याप्लिङ क्लाइम्बिङ’ विधिमार्फत खोजी गरेको छ।

सशस्त्र प्रहरी सहायक हवल्दार किरण सुवेदी र सशस्त्र प्रहरी जवान देवराज खनाल डोरीको सहायताले पुलबाट करिब ८० मिटर तलको अप्ठ्यारो खोँचमा ओर्लिएर खोजीमा जुटेका छन्।

खोजी कार्यको प्रभावकारिता बुझ्न कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, नेपाली सेना कृष्णदल गण फुलबारीका गणपति प्रमुख सेनानी राजेन्द्र पुडासैनी, सशस्त्र प्रहरी उपरीक्षक बसन्तबहादुर सिंह, राष्ट्रिय अनुसन्धान कार्यालयका उपअनुसन्धान निर्देशक मोहनबहादुर कुँवर र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानसहितको संयुक्त सुरक्षा टोलीले घटनास्थलको स्थलगत अनुगमन गरेको छ।

विजयपुर खोला पोखरा-२७ मोरेखरे हुँदै सेती नदीमा मिसिने भएकाले खोजीको दायरा सेती नदी किनारसम्म फराकिलो पारिएको छ। यसका लागि तनहुँ, चितवन र नवलपरासीका जिल्ला प्रशासन तथा प्रहरी कार्यालयहरूसँग समेत समन्वय भइरहेको सहायक प्रजिअ बरालले जानकारी दिए।

यसैबीच, जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुन सक्रिय रहेकाले नदी तथा खोला किनारमा नजान, बालबालिकामाथि विशेष निगरानी राख्न र तटीय क्षेत्रका होचा बस्तीमा पानीको बहाव बढ्नासाथ सुरक्षित स्थानमा सर्न सर्वसाधारणमा अपिल गरेको छ।

प्रकाशित: ३१ श्रावण २०८३ २१:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App