समाज

पेस्तोलसहित दुई जना पक्राउ

मोरङको जहदाबाट हतियार (पेस्तोल) सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । बुधबार बिहान ६ बजेतिर जहदा गाउँपालिका–४ हटिया टोलबाट हतियारसहित उनीहरु पक्राउ परेका हुन् ।

दिनेश मण्डलको टाटीबेरा प्रयोग गरी टिनको छानो लगाएर बनाइएको भुस राख्ने छाप्रो घरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा एक थान पेस्तोल फेला परेको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिइन् । उनका अनुसार हतियार राखिएको छ भन्ने सूचनाका आधारमा घर खानतलासी गर्दा प्लाष्टिकको बेरामा गहुँको भुसभित्र लुकाएर राखिएको ‘मेड इन जापान’ लेखिएको १ थान सिक्सर पेस्तोल, हातमा लगाउने नक, एउटा खुकुरी र मोबाइल पनि बरामद भएको छ ।

जहदा–४ का १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डललाई बरामद भएको हतियार लुकाएर राखेको आरोपमा पक्राउ गरिएको बताउँदै, डिएसपी चुँडालले भनिन्, ‘सोही ठाउँका २० वर्षीय मुकेशकुमार महतो पनि हतियार लुकाएर राख्नेमध्ये हुन उनी फरार छन् । खोजी कार्य तीव्र पारिएको छ ।’

नम्बर प्रस्ट नदेखिने गरी केरमेट गरिएको एउटा मोटरसाइकल पक्राउ परेका हरिकुमारको साथबाट प्रहरीले नियन्त्रणमा लिएको छ । हरिकुमार र आशिष यसअघि पनि मोटरसाइकल चोरीमा पक्राउ परी अदालतले तोकेको सजाय भुक्तान गरेर १ महिनाअघि मात्रै छुटेको पाइएको छ ।

हतियार किन र कहिले ल्याएका हुन् भन्ने यकिन भएको छैन, थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित: ३२ असार २०८२ १४:२७ बुधबार

#NagarikNews