सशस्त्र प्रहरी बलको ईन्टेलिजेन्स ब्युरोले ट्रमाडोल हाईड्रोक्लोराइड क्याप्सुल (ट्रामोल–५०) नामक लागूऔषध २१ हजार ६४ पत्ता (२ लाख १० हजार ६ सय ४० क्याप्सुल) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा जेठ १२ गते राति करीब साढे २ बजे भक्तपुर जिल्ला मध्यपुर थिमी–६ कमेरेटारबाट काभ्रे जिल्ला पनौती नगरपालिका–५ घर भई भक्तपुर कटुन्जेमा डेरा गरी बस्ने ४१ वर्षीय विरध्वज तामाङलाई आवश्यक सोधपुछका लागि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो।
सशस्त्र प्रहरीले निज तामाङको सूचनाका आधारमा ललितपुर जिल्ला गोदावरी नगरपालिका-२ बिशंखुनारायण मन्दिरबाट ३ सय मिटर अगाडि कोटडांडा जाने रोडको छेउमा पतकरले छोपेको अवस्थामा ६ वटा बोरा र २ वटा चाउचाउको कार्टुनमा लुकाइछिपाइ राखेको अवस्थामा उल्लेखित लागूऔषध फेला पारेको सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उनकै सूचनाका आधारमा लागूऔषध लुकाउने अर्का व्यक्ति काभ्रे जिल्लाको कोशीपारी–१ स्थायी घर भइ ललितपुर जिल्लाको हरिसिद्धीमा डेरा गरी बस्ने ट्याक्सी चालक ३८ वर्षीय सान्तबहादुर तामाङ र उनले चलाउने गरेको प्रदेश ०१–००२ ज ८८६३ नम्बरको ट्याक्सीसहित जेठ १८ गते सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। निज तामाङले लागूऔषध बोक्न ट्याक्सी प्रयोग गरेको आशंकामा नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएका बिरध्वज तामाङलाई सशस्त्र प्रहरीले जेठ १२ गते नै आवश्यक कारबाहीका लागि प्रहरी बृत्त थिमीमा बुझाएको थियो भने सोमबार नियन्त्रणमा लिइएका सान्तबहादुर तामाङलाई बरामद लागूऔषध र ट्याक्सीसहित आवश्यक कारबाहीका लागि नेपाल प्रहरी प्रभाग गोदावरी ललितपुरमा बुझाइएको डिएसपी थापाले बताए।
सो लागूऔषध केही दिनअघि काठमाडौं भित्रिएको सूचना पाएपछि ब्युरोले पिछा गरेको थियो। कलंकीबाट बिरध्वज तामाङले उक्त लागूऔषध ललितपुरको चंगाथली पुर्याएको बुझिएको छ। त्यसपछि उनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यस लगत्तै सोमबार नियन्त्रणमा लिइएका ट्याक्सी चालकले लागूऔषध हरिसिद्दिमा केही दिन राखेर सोमबार बरामद भएको ठाउँसम्म सोही ट्याक्सी प्रयोग गरेर लुकाएका थिए।
प्रकाशित: १९ जेष्ठ २०८३ ०६:५१ मंगलबार