समाज

करणी र डकैतीका फरार दुई अभियुक्त पक्राउ

जबरजस्ती करणी र चोरी डाँका मुद्दामा फरार रहेका दुई जनालाई मकवानपुर प्रहरीले जुवा खेलबाट पक्राउ गरेको छ। 

जुवा खेलिरहेको अवस्थामा असोज ३१ गते ११ जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये दुई जना जबरजस्ती करणी तथा चोरी मुद्दाका फरार अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

उनका अनुसार हेटौँडा उपमहानगरपालिका–१० बाट ११ बुक तास र रु तीन लाख छ हजार ३१० नगदसहित पक्राउ परेकामध्ये स्थानीय ३७ वर्षीय अर्जुन तामाङ भन्ने विजय तामाङ सिन्धूपाल्चोक जिल्ला अदालतबाट २०७४ साल साउन ११ गते जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय पाएर फरार रहेका थिए।

यसैगरी पक्राउ परेकामध्ये मकवानपुरको बागमती गाउँपालिका–५ ज्यामिरे निवासी २७ वर्षीय राजेश दर्नाल भन्ने हेमन्त परियार चोरी तथा डाँका मुद्दामा फरार अभियुक्त रहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए।

दर्नालमाथि जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त महाराजगञ्ज काठमाडौंमा गरी चोरी तथा डाँका कसुर सम्बन्धी पाँच मुद्दा दर्ता रहेको छ। दुवै जनामाथि आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइने प्रहरीले जनाएको छ।

प्रकाशित: ४ कार्तिक २०८२ १४:०६ मंगलबार