समाज

तुलसीपुर-घोराही सडक निर्माण कार्य सात वर्षपछि सुरु

दाङका दुई प्रमुख सहर जोड्ने सडक सात वर्षदेखि धुलाम्य छ। तुलसीपुर र घोराही बजार जोड्ने प्रमुख मार्ग विस्तार अवधि सात वर्षमा सडक खनिएको मात्रै छ। फलतः बर्खायाममा हिलाम्य र अन्य समयमा धुलाम्य हुने यो सडक दंगालीवासीका लागि टाउको दुखाइ बनिरहेको छ।

सडक खनिएका कारण यो सडकमा दिनहुँ सवारी दुर्घटना भइरहन्छन्। यो अवधिमा थुप्रैले सडक दुर्घटनाका कारण ज्यान गुमाइसकेका छन्।

भारतीय एक्जिम बैंकको ऋण लगानीमा २०७६ सालदेखि घोराही–तुलसीपुर चार लेन सडक निर्माण कार्य सुरु भएको थियो। यो लगानीमा भारतकै निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले निर्माणको जिम्मा पाएको थियो। यो कम्पनीले स्थानीय पेटी ठेकेदारमार्फत काम सुरु गर्न खोज्यो तर पेटीले ठेक्का जिम्मा लिएको कम्पनी कामबाट भाग्यो अनि सडक अलपत्र अवस्थामा रहन पुग्यो। भारतीय निर्माण कम्पनीले काम गर्न नसकेर सडक अलपत्र पारेपछि सरकारले उक्त कम्पनीसँग २०८० सालमा ठेक्का तोडेको थियो।

तत्कालीन सरकारले भारतीय कम्पनीसँगको ठेक्का तोडेपछि नयाँ ठेक्का खोलेको थियो, तर नयाँ ठेक्का लागेर पुनः काम सुरु भएको यो सडकको अवस्था भने उस्तै छ। दिवा/वन्दन भगवती जेभीसँग सम्झौता भएपछि १५ महिनादेखि घोराही–तुलसीपुर चार लेन सडक विस्तार कार्य पुनः सुरु भएको थियो।

सडक विस्तार कार्य सुरु भएको १५ महिनाको अवधिमा १७ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ। घोराहीदेखि तुलसीपुरसम्मको २१.५८ किलोमिटर सडक विस्तारअन्तर्गत निर्माण कम्पनीले १५ महिनाको अवधिमा १७ प्रतिशत भौतिक प्रगति गरेको छ। तीन वर्षमा काम सक्ने गरी ठेक्का सम्झौता भएको सडक निर्माणमा हालसम्म १५ प्रतिशत अर्थात् ३७ करोड ९५ लाख रुपैयाँ खर्च भएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ।

सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्रबहादुर विष्टका अनुसार निर्माण कम्पनीले एक वर्षको समयमा घोराही–तुलसीपुर चार लेन सडक विस्तारअन्तर्गत घोराहीको रतनपुरचोकदेखि तुलसीपुरको बेलझुन्डीसम्मको १४ किलोमिटर सडक खण्डमा माटो कटानसँगै ३८ वटा बक्स कल्भर्ट निर्माण गरेको छ।

थप तीनवटा स्ल्याब कल्भर्ट निर्माणाधीन अवस्थामा रहेका छन्। यसैगरी विभिन्न क्षेत्रमा ६ किलोमिटर पक्की नाला निर्माण कार्य सकिएको छ। माटो कटान, नाला र कल्भर्ट निर्माणको काम भएका क्षेत्रमा ग्राभेल गर्ने तयारी भइरहेको कार्यालय प्रमुख विष्टले बताए।

उनका अनुसार घोराही उपमहानगरपालिका– १० स्थित गुर्जे खोलादेखि तुलसीपुर उपमहानगरपालिका– १८ बेलझुन्डीसम्म सडक क्षेत्रभित्र पर्ने विद्युत् पोल स्थानान्तरण कार्यसमेत सकिएको छ भने घोराहीदेखि गुर्जे खोलासम्म विद्युत् पोल स्थानान्तरण कार्य भइरहेको छ। उक्त क्षेत्रमा कल्भर्ट तथा वाल निर्माण कार्य भइरहेको छ।

वर्षाको समय र लगत्तै दसैं–तिहार पर्व परेका कारण निर्माण कार्यले नागरिकले अपेक्षा गरेअनुसार गति लिन नसकेको भन्दै कार्यालय प्रमुख विष्टले अब चाडपर्व सकिएकाले निर्माण कार्यले गति लिने बताए। माटो कटान, नाला र कल्भर्ट निर्माण सम्पन्न भएका क्षेत्रमा ग्राभेल गर्ने काम अघि बढाउने तयारी रहेको छ।

 सडक निर्माणको जिम्मा पाएको दिवा/बन्दन भगवती जेभीका कन्ट्र्याक्ट म्यानेजर इन्जिनियर सुनिल ढुंगानाका अनुसार निर्माण कार्य लक्ष्यअनुसार भएको बताउँछन्। वर्षा र लगत्तै चाडपर्व परेका कारण कामले गति लिन नसकेको भए पनि सडकको दायाँबायाँ माटो कटान, खाल्डा पुर्ने तथा नाला, वाल र कल्भर्ट निर्माण कार्य भइरहेको छ।

सडक निर्माण कार्य भइरहेको भन्दै प्रतिनिधि ढुंगानाले भने, ‘वर्षायामसँगै चाडपर्व परेकाले कामले गति लिन नसकेको हो। मौसम सफा भएसँगै कामदार आउने क्रम भएकाले अब कामले गति लिन्छ।’

घोराही–तुलसीपुर चारलेन सडक विस्तारका लागि दुई अर्ब ५३ करोड रुपैयाँमा काठमाडौंको दिवा/बन्दन भगवती जेभीसँग २०८२ असार २४ गते ठेक्का सम्झौता भएको थियो। सम्झौतापछि निर्माण कम्पनीले गत वर्ष मंसिर १ देखि सडक विस्तार कार्य सुरु गरेको थियो।

सम्झौताअनुसार २०८५ असार २४ भित्र घोराही–तुलसीपुर चार लेन सडक निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ। सडक विस्तारअन्तर्गत सहरी क्षेत्रमा फुटपाथसहित ३० मिटर चौडाइ कायम गरिनेछ। त्यसमध्ये २० मिटर सडक कालोपत्रे हुनेछ भने ग्रामीण क्षेत्रमा १५ मिटर चौडाइमा कालोपत्रे गरिने सडक डिभिजन कार्यालय दाङले जनाएको छ।

निर्माण कम्पनीले सडक निर्माणका लागि चारवटा एक्स्काभेटर, एउटा ग्रेडर, दुईवटा रोलर, चारवटा ब्याक लोडर, १६ वटा टिपर, दुईवटा ट्रेलर, एउटा सानो क्रेन, पाँचवटा ट्याक्टर, दुईवटा पानीट्यांकी, एउटा डोजर र ह्विल लोडरसहित ४० सवारी/उपकरण प्रयोग गरेको छ।

निर्माणका लागि आवश्यक पर्ने सामग्रीका लागि क्याम्पमा क्रसर प्लान्ट, मोबाइल स्क्रिन प्लान्ट, मोबाइल स्यान्ड वासर, अस्फाल्ट प्लान्ट र कंक्रिट ब्याचिङ प्लान्ट कम्पनीले स्थापना गरेको इन्जिनियर ढुंगानाले बताए।

प्रकाशित: ७ मंसिर २०८३ १३:०७ सोमबार