समाज

बाढीले पुल बगाएपछि बुढीगण्डकीमा तुइन जडान

बाढीले झोलुंगे पुल बगाएपछि धार्चे गाउँपालिकाका बासिन्दालाई लक्ष्यित गरी बुढीगण्डकीमाथि तुइन जडान गरेको छ। जडानसँगै यसको प्रयोग पनि थालिएको छ।

झोलुंगे पुल महाशाखाले धार्चे गाउँपालिकाको केन्द्र माछाखोलालाई लामाबेँसी र केरौँजासँग जोड्ने गरी दुई वटा तुइन जडान गरेको छ।

यसअघि धार्चे–३ को खोर्लाबेँसी र धार्चे–२ को केरौँजाबेँसी जोड्ने  अर्को तुइन सञ्चालनमा ल्याइएको थियो। तुइनबाट एक पटकमा दुई जनासम्म वारपार गर्न सकिन्छ।

स्थानीय युवाले तुइन सञ्चालनमा सहयोग गर्दै आएका छन्।

तुइनबाट केरौँजा र लामाबेँसीका साथै आसपासका क्षेत्रका सर्वसाधारणलाई नदी तर्न केही सहज भएको छ।

तुइनको यात्रा जोखिमपूर्ण भएको गुनासो स्थानीय फिरेन्द्र घलेको छ। उनले तत्काल झोलुंगेपुल निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित: ११ मंसिर २०८३ ११:२७ शुक्रबार