मकवानपुरको मकवानपुरगढी गाउँपालिका–१ लेनडाँडाको घुम्तीमा ब्रेक फेल हुँदा ट्रक सडकबाट करिब १०० मिटर तल भिरमा खसेको छ।
बिहीबार बिहान करिब ७ बजे कान्ती लोकपथ सडकखण्डमा रौतहटको चन्द्रपुरबाट तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत महादेवटारतर्फ ह्युमपाइप लोड लिएर जाँदै गरेको ना.१ क ८५३६ नम्बरको ट्रक ब्रेक फेल भइ दुर्घटनामा परेको हो।
दुर्घटनाको जानकारी प्राप्त भएपछि अ.प्र.पोष्ट जितपुर भञ्ज्याङ, मकवानपुरबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीका अनुसार ट्रक सडकबाट करिब १०० मिटर तल भिरमा खसेको छ।
ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–६ बस्ने ३६ वर्षीय धनबहादुर विकले ट्रकबाट हामफालेर ज्यान जोगाएका छन्। दुर्घटनामा चालक सकुशल रहेको र ट्रकमा चालक मात्र सवार रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेको ट्रक घटनास्थलमै रहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: ४ भाद्र २०८३ ११:०५ बिहीबार