समाज

त्रिभुवन राजपथमा ट्रक दुर्घटना हुँदा सडक पूर्ण रूपमा अवरुद्ध

मकवानपुरमा ट्रक दुर्घटना हुँदा त्रिभुवन राजपथ पूर्ण रूपमा अवरुद्ध भएको छ।

आज बिहान करिब १:३० बजे मकवानपुरको थाहा नगरपालिका–१२ टिष्टुङस्थित त्रिभुवन राजपथमा काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख १७५० नम्बरको ट्रक दुर्घटनामा परेको हो। ट्रकको अगाडिको दाहिने साइडको पट्टा भाँचिएपछि ट्रक सडकमै पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका–२ मौवाखोला निवासी अन्दाजी २७ वर्षीय धुर्व घले ट्रकबाट हाम फाल्दा घाइते भएका छन्। उनको दाहिने खुट्टाको पौतालामा सामान्य चोट लागेको र उपचारका लागि पालुङ अस्पताल पठाइएको छ।

इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको टोली घटनास्थलमा पुगेको छ। दुर्घटनाग्रस्त ट्रक हाल घटनास्थलमै रहेकाले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ चैत्र २०८२ ०७:१२ शनिबार