समाज

प्रधानमन्त्रीको छोरीको फोटो ट्रोलिङ गर्ने शैलीले बालअधिकार हनन भयो : प्रवक्ता पौडेल

राष्ट्रिय महिला आयोगका प्रवक्ता कृष्णकुमारी पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहले शपथका बेला बोकेको छोरीको फोटो ट्रोलिङ गर्ने प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको कार्यशैलीप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्।

आयोगको वरिष्ठ सदस्य समेत रहेकी पौडेलले अबोध बालिकालाई सामाजिक सञ्जालमा ट्रोलिङ गरेर बालअधिकारको हनन हुन पुगेको समेत दाबी गरेकी छन्। आयोगले आइतबार ताप्लेजुङमा गरेको कार्यक्रममा बोल्दै उनले आफ्नो बाबु प्रधानमन्त्री भएको थाहासम्म नहुने अबोध बालिकाको तस्बिरलाई ट्रोलिङ गर्ने कार्य मानवअधिकार र बाल अधिकार दुवै दृष्टीकोणले गलत भएको आयोगको निष्कर्ष रहेको सुनाइन्।

पुरुष विवादित भएको प्रसंगमा श्रीमती गएर श्रीमानको संरक्षण गर्नुपर्ने गलत परम्परा हावी भएको उनको भनाइ थियो। यो प्रसंग एमाले नेता महेश बस्नेतकी श्रीमती र बस्नेतलाई कारबाहीको माग गर्दै संघर्षरत शोभा पाठकबिचको कपाल लुछालुछसँग सम्बन्धित रहेको उनको इंगित थियो। खतिवडाले अब लैंगिक हिंसा न्यूनीकरण नभई अन्त्य हुनुपर्ने दाबी गरेकी छन्।

नेपालको संविधान २०७२ जारी हुँदा संविधान लेख्ने कार्यमा कोही पनि महिला नरहेको दाबी गर्दै उनले पुरुषको अपार सहभागितामा तयार भएको संविधानमा महिलालाई मनोमानी हिसावले ३३ प्रतिशत आरक्षणसहितको अधिकार लेखिएको उनको भनाइ थियो। आफ्नो उपस्थितिका हिसावले कम्तिमा ५० प्रतिशत महिला सहभागिता अनिवार्य हुनुपर्ने लडाइँमा आयोग अहिले पनि संघर्षरत रहेको पौडेलले बताइन्।

लैंगिक असामनता र लैंगिक हिंसा अन्त्यका लागि अब तीनै तहका सरकार र यसका सरोकारवालाले विद्यालय–विद्यार्थी–समुदाय र सरोकारवालाको सहकार्य जरुरी रहेको पौडेलले बताइन्। उनले फुङलिङ नगर क्षेत्रमा जिल्ला स्तरीय व्यवस्थित सेभ हाउस (संरक्षण केन्द्र), महिला कारागार सहितका संरचनाको आवश्यकता महसुस गरेको भन्दै यसको निर्माण र व्यवस्थापनका लागि आयोगकोतर्फबाट सम्बन्धित निकायमा सिफारिस गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन्।

फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाले फुङलिङ नगरपालिकासहित यहाँका स्थानीय तहको समन्वयमा सेभ हाउसको आधारभूत संरचना पूरा भएको र यसलाई पूर्णता दिन बाँकी रहेकोले तत्काल यो कार्य पूरा गर्ने कार्यमा सहजीकरण गरिदिन महिला आयोगको ध्यानाकर्षण गरिन्। ओझाका अनुसार प्रदेश सरकारको करिब २० लाख रुपैयाँको लागतमा पुरानो भवनलाई जीर्णोद्धार गरी सेभ हाउसको आधारभूत संरचना तयार भएपनि यसलाई पूर्णता दिइ थप व्यवस्थापन गर्न बाँकी रहेको छ।

यसअघि उपस्थित सञ्चारकर्मी र अन्य सरोकारवालाले जिल्ला तहमा व्यवस्थित र सुरक्षित तवरको सेभ हाउसको अभाव रहेको विषयमा आयोगको ध्यानाकर्षण गराएका थिए। राष्ट्रिय महिला आयोगका सचिव शंकरहरि आचार्यका अनुसार आयोगले आफ्नो वार्षिक प्रतिवेदनमै देशभर उठेका सवाललाई समेत समेटेर सिफारिससहितको प्रतिवेदन राष्ट्रप्रमुख समक्ष पेस गर्ने छ। सो भन्दाअघि आयोगले सम्बन्धित सवालको सिफारिस विषयगत निकायमा सिफारिस समेत गर्न सक्ने बताए। 

संवैधानिक निकायको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस हुने गरेको छ। आयोग समक्ष ताप्लेजुङ जिल्ला अस्पतालका मेडिकल अधिकृत यमन कार्कीले लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)द्वारा पछिल्ला तीन वर्षमा भएका गतिविधि प्रकाश पारेका थिए।

कार्कीका अनुसार ओसिएमसीमा चालु आर्थिक वर्षको वैशाख दोस्रो सातासम्ममा १६ वटा घटना आएका छन्। त्यसमध्ये ८ जना पुरुष पीडित र ८ जना महिला पीडित भएका घटना आएको बताए। उनका अनुसार आव २०८१।८२ मा ओसिएमसीमा ५१ र आव २०८०।८१ मा ३९ वटा घटना आएका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जटाशंकर यादवले पछिल्ला तीन आवमा भएका लैंगिक हिंसाका घटनाको जानकारी अवगत गराएका थिए। प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले लैंगिक हिंसा अन्त्य गर्ने विषय सामूहिक सहकार्यबाट मात्र सम्भव हुने भएकोले यस कार्यमा सरोकारवाला सबै एकजुट भएर अग्रसर हुनुपर्ने बताए।

प्रकाशित: २० वैशाख २०८३ १४:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App