समाज

त्रिशुली थ्री–बीमा उद्धार कार्य जारी

रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको माथिल्लो त्रिशुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।

नेपाल सरकारको अनुमतिमा यही भदौ १३ गते चिनियाँ उद्धार टोली आफै निजी हेलिकप्टर लिएर नुवाकोटको त्रिशुली पुगेको थियो। 

त्यसपछि नेपाली सेनासँग समन्वय गरी निजी हेलिकप्टर लिएर माथिल्लो त्रिशुली थ्रि बीको सुरुङ क्षेत्रमा पुगेको थियो।

लगत्तै यो टोलीले माथिल्लो त्रिशुली थ्रि बीको सुरुङ क्षेत्रमा रेकी गरेको थियो। चिनियाँ उद्धार टोलीले सोही दिन रसुवाको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनामा पनि रेकी गरेको थियो।

त्यसपछि दुवै जलविद्युत आयोजनाको रेकीपश्चात् उक्त टोलीले नेपाली सेनालाई बस्तुस्थितबारे जानकारी गराएको थियो।

भदौ १४ गते भने सो चिनियाँ टोली रसुवाको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजना क्षेत्रमा उद्धार कार्यमा केन्द्रित भएको थियो।

यता सोही दिन त्रिशुली थ्रि बीमा भने नेपाली सेनाको भैरवनाथ गणका १५ जना र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीद्वारा खोज तथा उद्धारको प्रयास सुरु भएको थियो।

आज पनि बिहान ९ बजे नेपाली सेनाको भैरवनाथ गणका १६ जना थपिएर सुरुङ क्षेत्र खन्ने काम भइरहेको छ। यो आयोजनाको सुरुङमा मानिसहरू फसेको आशंका गरिएको छ।

प्रकाशित: १५ भाद्र २०८३ १६:४५ सोमबार