समाज

त्रिचन्द्र महिला सञ्जाल तीज उत्सव छोडेर बाढीपीडित राहत अभियानमा

यही भदौ १० गते भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठुलो धनजनको क्षति भएपछि त्रिचन्द्र महिला प्राध्यापक तथा कर्मचारी सञ्जाल पूर्वनिर्धारित तीज विशेष तथा सम्मान कार्यक्रम स्थगन गरी मानवीय सेवामा जुटेको छ ।  

सञ्जालले बाढीपीडितका लागि रक्तदान, राहत सामग्री संकलन र हस्तान्तरण अभियान सञ्चालन गरेको छ । यसैक्रममा क्याम्पस परिसरमा रक्तदान र राहत संकलन गरिएको छ ।  

‘विपत्तिमा उत्सव होइन, सेवा’ भन्ने मूल भावलाई आत्मसात् गर्दै बाढीपीडितका लागि राहत अभियानमा सञ्जाल जुटेको अध्यक्ष विष्णुमाया खत्रीले बताइन् ।  

कार्यक्रमको प्रमुख अतिथि क्याम्पस प्रमुख डा. नीलम श्रेष्ठ प्रधान थिइन् । उनले रक्तदानका लागि आवश्यक सामग्री रक्तदातालाई हस्तान्तरण गर्दै अभियानको उद्घाटन गरिन् ।  

सञ्जालकी अध्यक्ष खत्रीले कार्यक्रमको उद्देश्य बाढीपीडितलाई सहयोग गर्नु रहेको बताइन् । उनले विपत्तिको समयमा तीज उत्सव मनाउन उचित नलागेकाले पूर्वनिर्धारित तीज विशेष कार्यक्रम स्थगन गरी बाढीपीडितको सहयोगका लागि रक्तदान र राहत संकलन अभियान सञ्चालन गर्ने निर्णय गरिएको जानकारी गराइन् । उनले तीज केवल नाचगान र मनोरञ्जनको पर्व नभई आत्मीयता, सम्बन्ध, सुखदुःख बाँड्ने र एकअर्काको साथमा उभिने संस्कृतिको प्रतीक भएकाले यस वर्ष बाढीपीडितसँग जोडिने प्रयास गरिएको बताइन् । उनले भनिन्, ‘एउटा थोपा रगतले कसैको जीवन बच्न सक्छ । सानो राहत पनि विपत्मा ठुलो आशाको आधार बन्न सक्छ । त्यसैले यो रक्तदान जीवनप्रतिको सम्मान हो र राहत सामग्री संकलन–हस्तान्तरण पीडितप्रतिको ऐक्यबद्धताको सामूहिक अभिव्यक्ति हो ।’

नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा, प्रदर्शनीमार्गको प्राविधिक सहकार्यमा अयोजित रक्तदान कार्यक्रम उत्साहपूर्ण सहभागिता थियो । रक्तदानसँगै बाढीपीडितका लागि राहत सामग्री संकलन र हस्तान्तरण गरिएको थियो । सञ्जालकी सचिव रमिना महर्जनले सञ्चालन गरेको कार्यक्रममा रक्तदातालाई सञ्जालका तर्फबाट सम्मानपत्र प्रदान गरियो ।  

सञ्जालकी उपाध्यक्ष डा. लता घिमिरेले सहभागीलाई स्वागत गरेको कार्यक्रमका वक्ताले शिक्षक–कर्मचारी कक्षाकोठा र क्याम्पसभित्र मात्र सीमित नभई सामाजिक र मानवीय सेवामा पनि जुट्नुपर्ने धारणा राखेका थिए ।  

सञ्जालले बाढी प्रभावितका लागि सञ्चालन गरिने हरेक अभियानमा ऐक्यबद्धता जनाउने प्रतिबद्धता पनि गरेको छ । सञ्जालले भनेको छ, ‘मानवता शब्दमा होइन, कर्ममा अर्थपूर्ण हुन्छ, विपत्तिमा दर्शक होइन सहयात्री बन्नुपर्छ, पीडामा मौनता होइन सहकार्य गर्नुपर्छ र संकटमा एकअर्काको हात समात्नु पर्छ ।’

कार्यक्रममा सञ्जालका संस्थापक तथा पूर्वअध्यक्षहरू, पूर्वकार्यसमितिका सदस्यहरू, वर्तमान पदाधिकारी तथा सदस्यहरू, सहायक क्याम्पस प्रमुखहरू, विभागीय प्रमुखहरू, प्राध्यापक, कर्मचारी, स्वतन्त्र विद्यार्थी युनियनका प्रतिनिधि, विद्यार्थी, सञ्चारकर्मीलगायतले बाढीपीडितलाई सहयोगका लागि हातेमालो गर्न अपिल गरे ।  

सञ्जालले विगत १४ वर्षदेखि प्राज्ञिक गतिविधि, क्षमता विकास, नेतृत्व अभिवृद्धि, सामाजिक तथा सांस्कृतिक कार्यक्रम र मानवीय सेवामूलक अभियानलाई निरन्तरता दिँदै आएको छ । कार्यक्रममा सहभागीलाई सञ्जालकी अर्की उपाध्यक्ष सलिना बास्कोटाले धन्यवाद ज्ञापन गरिन् ।

प्रकाशित: २५ भाद्र २०८३ १८:०८ बिहीबार