पदयात्राको यो सिजनमा पदयात्रा रुटमा विदेशी पदयात्रीको भिडभाड हुनुपर्ने हो। तर, यो पटक त्यस्तो भिडभाड छैन। रसुवा भोटेकोशीको बाढीमा सयौँ विदेशी पर्यटक हराएको तथा त्यसपछिको त्रासले यो सिजनमा नेपाल आउने विदेशी पर्यटक भित्रिएनन्। त्यसको मार अहिलेको पदयात्रा पर्यटनमा परेको पदमार्ग क्षेत्रका व्यवसायीले बताएका छन्।
जसोतसो आएका विदेशी पाहुना पनि आगामी केही दिनमा नेपालमा हुनसक्ने भीषण वर्षाको त्रासले गन्तव्यको बसाई छोट्टाएर धमाधम सहरतिर झर्न थालेका छन्।
अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा पर्ने माछापुच्छ्रे आधारशिविर (एमबिसी)का व्यवसायी दिलीप गुरुङका अनुसार सिजनको मुखमा रसुवा भोटेकोशीको बाढीले पर्यटन क्षेत्रमा ठुलो नोक्सान गरेको र त्यसपछिको त्रासले पाहुना नेपाल भित्रिन नसकेको उनले बताए।
‘पाहुना आउने सिजन सुरु हुनै थालेको थियो। एकाएक बाढीले ध्वस्त बनायो। बाढीपछि पाहुना आउनै पाएनन्,’ उनले भने, ‘एकाएक बुकिङ रद्द भयो।’
उनका अनुसार पछिल्लो साता फाट्टफुट्ट विदेशी पाहुना आउन थालेका थिए, तिनै पाहुना पनि अबको केही दिनपछिको वर्षाको त्रासले सहरतिर झर्न थालेका छन्।
‘पाहुना उक्लिन थालेका त थिए, तर, आएका पाहुना पनि लामो समय बस्न चाहेनन्। वर्षाको त्रासका कारण उनीहरू हतारमा फर्किए,’ उनले भने, ‘जसोतसो उक्लिरहेका पाहुना अहिले धमाधम फर्किन थालेका छन्।’
गुरुङका अनुसार पछिल्लो समय अन्नपूर्ण आधारशिविर क्षेत्रमा दिनमा ६० जनाको दरले विदेशी पाहुना आइरहेका थिए। ती मध्ये चिनियाँ, भारतीय र केही युरोपियन मूलका पाहुना पनि थिए। तर, ती पाहुनाको बसाई अहिले छोटिएको उनले बताए।
‘नेपालमा निकै नै भीषण वर्षा हुने भन्ने हल्ला फैलिएको छ। सरकारले समेत आगामी केही दिनपछि लगातार चार दिनसम्म सुरक्षित यात्रा गर्नु भनेर निर्देशन पनि दिएको छ, त्यसैले त्रास फैलिएपछि सुरक्षित क्षेत्रको रूपमा पाहुना सहरतिर झरिरहेका छन्,’ गुरुङले भने, ‘जसोतसो बाढीको प्रभाव कम हुने अपेक्षा थियो, फेरि वर्षा र हिमपातको त्रास छाएको छ।’
मौसमविद्ले बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालका विभिन्न स्थानमा भीषण वर्षा र हिमपात हुने बताएका छन्।
बाढीको प्रभाव नहुँदो हो त यो बेला अन्नपूर्ण क्षेत्रमा निकै नै भिडभाड हुनुपर्ने भए पनि त्यो हुन नसकेको उनले बताए। ‘हामीलाई भीड थाम्न हम्मेहम्मे हुने बेला हो। तर, यो पटक पाहुना भित्रिन सकेनन्। सिजनको पदयात्राको यो समय यस पटकका लागि खेर जाने संकेत देखिएको छ,’ उनले भने, ‘पर्यटन क्षेत्रमा सिजन लागेको अनुभूत हुनै पाएन।’
अर्को पदमार्ग मर्दी हिमाल क्षेत्रका होटेलमा पनि अहिले पाहुनाको भीड उत्तिसारो छैन। त्यहाँका व्यवसायीका अनुसार यति बेला मर्दी हिमाल क्षेत्रमा आन्तरिक र विदेशी पाहुनाको भीड हुनुपर्ने हो। तर, यो पटक त्यो भीड भित्रिन नसकेको त्यहाँका व्यवसायी चीमनारायण गौतमले बताए।
‘यतिखेर आन्तरिक पाहुनाको भीड हुनुपर्ने बेला हो। तर, आन्तरिक पाहुना पनि आउन सकेनन्। विदेशी पाहुना पनि भित्रिन सकेका छैनन्,’ गौतमले भने।
गौतमका अनुसार यो बेला दिनमा २ सयको हाराहारीमा पाहुना उक्लिनुपर्नेमा ६०–७० जनाको दरले मात्र पाहुना भित्रिएका छन्। ‘यो बेला हामीलाई पाहुनाको सत्कार गर्न भ्याई न भ्याई हुनुपर्ने हो। तर, हामीलाई फुर्सद मिलेको छ। यो पटक हामीले पाहुनाको भीड देख्न पाएका छैनौ,’ उनले भने।
उनले पनि पछिल्लो समय आगामी साताको वर्षाको त्रास पाहुनामा रहेको बताए। ‘मर्दीका लागि अन्यत्रतिरको जस्तो जोखिम त होइन। तर, भीषण वर्षा हुने भन्ने हल्लाले अहिले सबैतिर त्रास छाएको छ। पाहुना सचेत पनि बनेका छन्,’ उनले भने, ‘वर्षा नै भयो भने त पाहुना आउनै सक्दैनन्।’
पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्य पनि सेप्टेम्बरको आगमन धेरै रद्द भएको र अक्टोबरको आगमन अझै भन्न सकिने अवस्था नरहेको बताए।
‘भोटेकोशीको बाढीले सेप्टेम्बरको आगमन पुरै शून्यमा झारेको हो । अक्टोबरको अझैसम्म कायम छ। तर, भन्न सकिने अवस्था छैन,’ आचार्यले भने, ‘अबका दिनमा केही समस्या भएन भने अक्टोबरमा पाहुना आउँछन्, नत्र आउने छैनन्।’
आचार्यका अनुसार केही दिन पछि वर्षा हुने भन्ने त्राससँगै पदयात्राका लागि आएका विदेशी पाहुना पोखरामै रोकिएका छन्।
‘भीषण वर्षा हुने भन्ने हल्लापछि पाहुना पोखरामै होल्ड भएका छन्। जोखिम हुन सक्छ भनेर पाहुना पोखरामै पर्खेका छन्। वर्षाको अवस्था हेरेर बल्ल उकालो लाग्ने भनेका छन्,’ आचार्यले भने, ‘सोमबार र मंगलबार पदयात्राका लागि समय तय गरेका पाहुना यही रोकिएका छन्।’
उनका अनुसार वर्षाका कारणले पदयात्रामा जान रोकिएका कतिपय पाहुना चितवनतिर घुम्न निस्केका छन्। केही पोखरामै रोकिएका छन्।
‘गन्तव्यमा निस्केका पाहुना बिचबाटै फर्किन पनि थालेका छन्। गन्तव्यको बसाई अवधि छोट्याएका छन्,’ उनले भने, ‘पदमार्गमा भन्दा सहरमै सुरक्षित हुने ठानेर पाहुनाहरू धमाधम ओरालो लागेका छन्। उनीहरू सहरमै बस्ने योजनाका साथ झरेका हुन।’
बेलैमा सुरक्षा सचेतना हुनु राम्रो भए पनि यो पटक विपद्का कारण पर्यटकीय सिजन भद्रगोल भएको पनि आचार्यले बताए।
वर्षा कम हुने र यो सिजनमा पदयात्रा उपयुक्त हुने भन्दै विदेशी यति बेला नेपालको पदयात्राका लागि आउन चाहन्छन्। तर, यो पटक विपद्ले पाहुनाको यात्रालाई बिथोलेको पनि आचार्यले बताए।
‘अहिले पदयात्राको मुख्य सिजन हो। यो बेला न त बढी पानी पार्ने, न त गर्मी हुने, त्यही भएर यति बेला पाहुना नेपालको पदयात्रामा जान रुचाउने भए पनि यो पटक विपद् र वर्षाले सोचेजस्तो हुन पाएन,’ उनले भने।
प्रकाशित: ६ आश्विन २०८३ १७:५८ मंगलबार