इलामको यातायात सेवा ज्यादै कष्टप्रद भएको महिनादिनसम्म समाधान निस्किन सकेको छैन । सदरमुकामसहित पाँचथर र ताप्लेजुङसमेत आउ–जाउ गर्ने मुख्य सडकका रूपमा रहेको मेची राजमार्ग महिना दिनयता बन्द छ ।
इलाम नगरपालिका ९, राजदुवालीमा पहिरो झरेर र धस्सिएर करिब आधा किलोमिटर मेची राजमार्ग क्षतिग्रस्त छ । यहाँबाट घाम लाग्दा जसोतसो गाडी चल्नेगरेपनि पानी आउनेबित्तिकै बन्द हुनेगरेको थियो । तर, करिब २ सातायता यहाँबाट कुनैपनि सवारीका साधन चल्न नसक्दा खाद्यान्नसहित उपभोग्य सामग्री ढुवानी ज्यादै सकसपूर्ण हुनथालेको छ । वैकल्पिक सडकहरूमा समेत बर्खाको भेलबाढीले सवारी साधन सहज रूपमा चल्ने अवस्था नहुँदा इलाम सदरमुकाम ‘टापु’झैं बनेको छ ।
मेची राजमार्ग बन्द हुँदा निर्माणाधीन केचना–कञ्चनजंघा मार्ग विकल्पका रूपमा थियो । तर, यो सडकको पुवाखोलामा पुल नहुँदा गाडी सञ्चालन हुन सकेको छैन । डाइभर्सन बनाएर गाडी चलाउने गरिएपनि पानी पर्नेबित्तिकै बाढी आएर पटक–पटक बगाइरहेको छ । निर्धारित समयमा निर्माण हुन नसकेको यो सडकका दर्जनौं ठाउँमा हिलो जमेर गाडी चल्न ज्यादै कठिन भइरहेको छ ।
राजदुवालीको विकल्प मानिएको सिमलगोलाई–जोगमार्य–तिल्केनी सडकको समेत अवस्था भयावह छ । जोगमाई खोलामा पुल नहुँदा पानी परेका बेला सवारी साधन ठप्प हुनेगरेका छन् । यहाँ बनाइएको डाइभर्सन पनि पटक–पटक बाढीले बगाउनेगरेको छ । वारि–पारिको बाटो हिलाम्य भएका कारण सवारी साधन चलाउन सहज छैन । बिहीबार एकै दिन यो सडकमा हिलोमा नियन्त्रण हुन नसकेर एउटा पिकअप र अर्को यात्रुबाहक बोलेरो दुर्घटना भए । दुर्घटनामा ७ जना घाइतेसमेत भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जोगमाई र पुवाखोलामा बेलीब्रिज जडान गर्ने भनिएपनि अहिलेसम्म सामान आइसकेको छैन । सडक डिभिजन कार्यालयले भारतबाट बेलीब्रिजका सामग्री आउँदैगरेको र अब करिब २ सातामा आइसक्ने जनाएको छ । डिभिजन प्रमुख पवन भट्टराईले सामान धमाधम लोड हुँदै पठाउँदै गरेको खबर आएको र दुवै खोलामा बेलीब्रिज जडानको तयारी भने भएको बताए ।
स्थानीय आक्रोशित
राजमार्ग बन्द भएको लामो समय बितेपनि मर्मत नसकिएको भन्दै स्थानीय आक्रोशित हुनथालेका छन् । ३ वर्षदेखि मेची राजमार्गको राजदुवालीमा मर्मत भइरहेपनि गाडी गुड्न नसकेपछि उपभोग्य सामग्रीसमेत अभाव भएको भन्दै उपभोक्ता र व्यवसायी असन्तुष्ट छन् ।
इलाम उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण पौडेलले सरकारले सडकहरू मर्मत गर्न नसक्ने भए स्थानीयले नै श्रमदान गर्ने बताए । ‘यतिका समय भइसक्यो, इलामको कृषिउपज बारीमै कुहिरहेको छ, उपभोग्य वस्तु ल्याउन सकिएको छैन तर राजमार्ग मर्मत र वैकल्पिक सडक सुधारको कामले परिणाम दिएन,’ उनले भने, ‘सरकारले बरु सक्दिनँ भनेर हात उठाओस्, हामी इलामेले श्रमदान गरेर सडक र पुल बनाउँछौं ।’ उनले हिलाम्य सडकमा ठूला सवारी साधन नचल्दा साना सवारीमा सामान पल्टी गरेर ल्याउनुपरेकाले मूल्य बढेको बताए । ‘समान नल्याऔं भने उपभोग्य वस्तु अभाव हुन्छ, ल्याउँदा महँगो पर्छ,’ उनले भने, ‘सडक अवरुद्ध भएको यतिका दिन किन मर्मत सकिएको छैन, किन उचित विकल्प आउँदैन भन्ने सबै व्यवसायीको प्रश्न छ ।’
वरिष्ठ अधिक्ता जसबहादुर लुंगेलीले उपभोक्ताले ज्यादै दुःख पाइरहेको भन्दै सरकारले नसके स्थानीयले नै सडक बनाउन जुट्नुपर्ने अवस्था आएको बताए । ‘उपभोक्ता र इलामबासीमाथि ठूलो अन्याय भइरहेको छ,’ उनले भने, ‘राजमार्ग मर्मतका नाममा परिणाम नै नआउने काम किन भइरहेको छ ? उचित विकल्प किन निस्किन नसकेको हो ?’ इलामबासीले सडक डिभिजनले राजदुवालीको मेची राजमार्ग मर्मत गर्नुभन्दा यो बर्खाको बेला वैकल्पिक सडकहरूलाई भरपर्दो बनाउनुपर्ने सुझाव दिए । ‘कसरी हुन्छ, यो बर्खामा गाडी सहज रूपमा चल्नुपर्छ,’ अर्का उपभोक्ता ठाकुर कट्टेलले भने, ‘सरकारको काम देखावटीमात्रै नहोस्, परिणाम आओस् ।’
गत असोज १८ र १९ तथा अघिल्लो वर्षको असोज १२ को बाढी–पहिरोका कारण राजदुवालीको सडक क्षतविक्षत बनेको थियो । अहिले मर्मत भइरहेको छ । तर, खोलाबाटै पर्खाल उठाएर सडक अड्याउनुपर्ने अवस्था रहेकाले काम गर्न निकै जटिल भइरहेको छ । सडक डिभिजन प्रमुख भट्टराईले घाम लागेर ओभानो हुँदा करिब ५ दिनमा मेची राजमार्ग नै सञ्चालन हुने भएपनि पानी परेका बेला काम गर्न नसकिएको बताए । ‘मौसम हेरेर मर्मतको काम गर्नुपर्ने अवस्था छ,’ उनले भने । मेची राजमार्गको यो ठाउँका ४ खण्ड एउटै पहिरोले निरन्तर बगिरहेको छ । भिरालो पाखामा गोलाई घुमाएर बनाइएको सडकमा माथिबाट ठूलो पहिरो झर्दा ४ खण्ड एकै तवरले क्षतिग्रस्त भएका छन् ।
बारम्बार पहिरो झरिरहने र मर्मत भइरहने राजदुवालीको मेची राजमार्गको विकल्प भनिएको सिमलगोलाई–जोगमाई–तिल्केनी सडकमा पनि अहिले फोर ह्विल गाडी जोखिम मोलेर चलिरहेका छन् । गाडी हिलामा चिप्लिएर दुर्घटनासमेत हुँदा आवश्यक मर्मत हुन सकेको छैन । यहाँको जोगमाई खोलामा लगाएको बेलीब्रिज गत असोज १८ को बाढीले बगाएको थियो । त्यसपछि बनाइएको डाइभर्सनसमेत बाढीले बगाएको छ । अहिले जोगमाई खोलामा पनि नयाँ बेली ब्रिज बन्नेक्रममा छ । तर, सामान आइसकेको छैन । तराईबाट इलाम आउन अरू कुनै भरपर्दो सडक छैन ।
‘विपद् संकटग्रस्त जिल्ला’ घोषणाको माग
इलामका बासिन्दाले जिल्लालाई ‘विपद् संकटग्रस्त’ घोषणा गर्न माग गरेका छन् । इलाम नगरपालिकाको अगुवाईमा भएको सरोकारवालाको भेलाका सहभागीले इलाम संकटग्रस्त भइसकेपनि सरकारको ध्यान जान नसकेको गुनासो गरे ।
जिल्लाका जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक संघ–संस्थाका प्रतिनिधि, व्यवसायीलगायतको संयुक्त भेलाले जिल्लालाई कुनैपनि हालतमा संकटग्रस्त घोषणा गर्न संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । भेलाले दैनिक उपभोग्य खाद्य सामग्री, औषधि तथा ग्यासको आपूर्तिमा कठिनाइ भइ दैनिक जनजीवन अति प्रभावित भएकाले दैनिक उपभोग्य खाद्य सामग्री, औषधि तथा ग्यास नियमित आपूर्तिका लागि वैकल्पिक व्यवस्था मिलाउन र उल्लिखित कार्यका लागि सरकारी तथा गैरसरकारी निकायसँग आवश्यक समन्वय गर्न इलाम उद्योग वाणिज्य संघ इलामलाई अनुरोध गरेको छ ।
पुवाखोला जलविद्युत् आयोजनाको सुरुङ मार्ग र हेड ट्यांकीको ठाउँ–ठाउँमा लिकेज रहेको हुनसक्ने जानकारी आएको र गोलाखर्कको राजदुवाली क्षेत्रमा विगतदेखि नै पहिरो जाने, जमिन भास्सिनेजस्ता विपदजन्य घटना भइरहेकाले यो सुरुङ मार्ग, हेड ट्यांकी र त्यसभन्दा दक्षिणको क्षेत्रलाई प्राविधिक टोलीबाट अध्ययन गराइ आवश्कताअनुसार मर्मत गराउनुपर्नेसमेत भेलाले निर्णय गरेको छ ।
गत असोज १८ र १९ को बाढी–पहिरोले जिल्लामा १२ अर्ब रुपैयाँको भौतिक संरचना क्षति गर्दा सबैभन्दा बढी ७ अर्बका सडक र पुल क्षतिग्रस्त थिए । ३९ जनाको मृत्यु हुनेगरी भएको घटनापछि इलामलाई ३ महिनाका लागि ‘विपद् संकटग्रस्त’ जिल्ला घोषणासमेत गरियो । तर, सरकारले समयमै बजेट व्यवस्था नगर्दा मर्मतमा ढिलाइ भएर बर्खा लागेपछि काम सुरु भएको छ ।
गत आर्थिक वर्ष मेची राजमार्गको राजदुवालीमा मर्मत भइरहेको छ भने केचना–कञ्चनजंघा सडकको कामले केही गति लिने देखिएको छ । माई खोलाको बेलासे पक्की पुल ठेक्कापक्रियामा छ । यहाँ भर्खरै बेलीब्रिज जडान भइ सवारी चल्नसक्ने भएको छ । सिमलगोलाई–तिल्केनी सडकलाई भने चालु वर्ष बजेट विनियोजन नभएको डिभिजनले जनाएको छ । कोशी प्रदेश सरकारले भने सिमलगोलाई–तिल्केनी सडक मर्मतलाई २५ लाख रुपैयाँ दिने बिहीबार जानकारी दिएको छ ।
गत सोज १८ र १९ को बाढी–पहिरोले इलाममा ३९ जनाको मृत्यु भएको थियो । १ जना बेपत्ता, २६ घाइते, ४ सय ४९ परिवार विस्थापित, ८ सय २८ घरमा आंशिक क्षति र अर्बौको भौतिक संरचना ध्वस्त भएको थियो । संघीय सरकारले गत भदौ २३ मा इलामलाई ३ महिनाका लागि ‘विपद् संकटग्रस्त’ घोषणा गरेको थियो । तर, मर्मत र पुनर्निर्माणको गति तीव्र नहुँदा यो वर्ष पनि इलामबासीले सास्ती खेप्नुपरिरहेको छ ।
प्रकाशित: ७ श्रावण २०८३ १७:४९ बिहीबार

-600x400.jpg)

