समाज

देशभरका प्रमुख राजमार्गहरूमा सवारी आवागमन प्रभावित : कहाँ-कहाँ छ अवरोध ?

फाइल तस्बिर

शुक्रबार बिहान ७:२० बजेसम्मको प्रहरी विवरणअनुसार देशभरका विभिन्न मुख्य राजमार्ग बाढी, पहिरो र वर्षाका कारण प्रभावित भएका छन्। केही सडकमा आवागमन पूर्ण रूपमा रोकिएको छ भने केहीमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सबै सवारीको आवागमन रोकिएको छ। बिहान ४:०० बजेदेखि बेलुका ६:०० बजेसम्म भने सवारी सञ्चालन हुने बताइएको छ।

मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण राति ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सबै प्रकारका सवारीको आवागमन अर्को सूचना नभएसम्मका लागि रोकिएको छ। नुवाकोटको टोखा-छहरे सडकमा पनि अत्यावश्यक सेवाबाहेक सार्वजनिक तथा निजी सवारी राति १०:०० बजेदेखि बिहान ५:०० बजेसम्म बन्द गरिएको छ।

इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्ग हिलोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक बाटो रहेको प्रहरीले जनाएको छ। रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा त्रिशूली नदीले सडकमुनिबाट कटान गरेपछि त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-६ रिजेगार्ड खोलामा सडक माथिबाट ढुंगा, माटोसहितको लेदो आएपछि भेरी करिडोरको जाजरकोट-डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। रोल्पाको परिवर्तन गाउँपालिका-४ कुङ्ग्रीमा रातिको अविरल वर्षापछि पहिरो खसेर शहीद राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

रसुवा जिल्लातर्फबाट आएको अप्रत्याशित बाढीको जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्गको गल्छी-स्याफ्रुबेंसी, मुग्लिन-नारायणघाट राजमार्गलगायत त्रिशूली नदी आसपासका सडकमा अर्को आदेश नभएसम्म आवागमन रोकिएको छ।

धादिङका विभिन्न स्थानमा पनि पृथ्वी लोकमार्ग दुईतर्फी अवरुद्ध भएको छ। बेनिघाट रोराङ गाउँपालिका-१० ज्वाङखोला, गजुरी गाउँपालिका-२ बिहानी पम्प र गल्छी गाउँपालिका-६ बैरेनीमा लेदो हटाउने काम भइरहेको छ। गजुरी-५ गलौदीमा मेसिन पुग्न सकेको छैन भने गजुरी-६ जहरेखेत र बाङ्गेमोडमा पनि सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ भाद्र २०८३ ०७:३३ शुक्रबार