तनहुँको भिमाद नगरपालिका-९ अस्पाक्दीस्थित रिठ्ठाभञ्ज्याङ–सेराबेंसी मोटरमार्गमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
निर्माण सामग्री बोकेर बुचाखानीबाट ठकुरी थरतर्फ जाँदै गरेको लु ३ त ३०२६ नम्बरको ट्याक्टर शनिबार साँझ साढे ६ बजे सडकको दाहिनेपट्टिको नालीमा पल्टिएको हो।
दुर्घटनामा ट्याक्टरमा सवार कपिलवस्तुको शिवराज नगरपालिका–१ चैनपुरका ४५ वर्षीय लड्डु थारुको मृत्यु भएको छ। दुर्घटनालगत्तै उद्धार गरी उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र झरौटा पुर्याइएका उनलाई चिकित्सकले साँझ ६:५६ बजे मृत घोषणा गरेका हुन्।
पोस्टमार्टम पश्चात् उनको शव छोरा यामलाल थारुले सद्गतका लागि बुझेर लगेका छन्।
यसैगरी, दुर्घटनामा ट्याक्टर चालक र अन्य दुई जना कामदार घाइते भएका छन्। घाइते हुनेमा ट्याक्टर चालक तनहुँको म्याग्दे गाउँपालिका–५ थाङपाटनका ३२ वर्षीय अनिल कुमाल, कपिलवस्तुको शिवराज–५ का ५० वर्षीय नारायण पुन र वडा नम्बर ९ का ५१ वर्षीय दुर्गाबहादुर पुन रहेका छन्।
घाइतेमध्ये सामान्य अवस्थाका दुर्गाबहादुरको स्थानीय मेडिकलमै उपचार गरिएको थियो। बायाँ कोखामा चोट लागेका चालक कुमाल र टाउको तथा बायाँ हातखुट्टामा चोट लागेका नारायण पुनलाई भने जिपी कोइराला अस्पतालबाट थप उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा रिफर गरिएको थियो।
हाल घाइते तीनै जना उपचारपश्चात् अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। अस्पतालबाट डिस्चार्ज भएलगत्तै इलाका प्रहरी कार्यालय बेलचौताराले चालक कुमाललाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अगाडि बढाएको छ।
प्रकाशित: १ चैत्र २०८२ १९:१७ आइतबार