समाज

मनाङमा लेक लागेर बेहोस भएका पर्यटकको उद्धार

मनाङको प्रसिद्ध तिलिचो ताल भ्रमण गरी फर्कने क्रममा लेक लागेर बेहोस भएका एक पर्यटकको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ।

काठमाडौं महानगरपालिका–३१ निवासी ४५ वर्षीय वीरेन्द्र रसाइलीलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरी स्वास्थ्य चौकी पुर्‍याएको हो।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता, डीएसपी शैलेन्द्र थापाका अनुसार, रसाइली तिलिचोबाट फर्कने क्रममा एक्कासि लेक लागेर बेहोस भएका थिए।

खबर पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय, मनाङबाट खटिएको सुरक्षा फौजले उनलाई तत्काल उद्धार गरेको थियो।

प्रहरी टोलीले रसाइलीलाई स्ट्रेचरमा राखेर खाङसारबाट हुम्डेस्थित स्वास्थ्य चौकीसम्म पुर्‍याएको हो।

मनाङमा सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भएपछि उच्च हिमाली क्षेत्रमा हुने यस्ता घटनाहरूमा खोज तथा उद्धार कार्यमा सहजता आएको डीएसपी थापाले बताए।

तालिमप्राप्त सुरक्षाकर्मीका कारण हिमपात र लेक लागेर जोखिममा परेका नागरिक तथा पर्यटकहरूको उद्धार प्रभावकारी बनेको उनको भनाइ छ।

प्रकाशित: ११ कार्तिक २०८२ १७:२५ मंगलबार