बाढीका कारण ठप्पजस्तै बनेको चितवनको सौराहाको पर्यटन व्यवसाय विस्तारै चलायमान हुन थालेको छ। भोटेकोसी बाढीपछि सडक तथा निकुञ्जभित्रका पर्यटकीय गतिविधि प्रभावित हुँदा होटलका बुकिङ ठुलो संख्यामा रद्द भएका थिए। पछिल्ला दिनमा सडक खुलेसँगै पर्यटकको आवागमन बढ्न थालेपछि व्यवसायीमा आशा पलाउन थालेको छ।
सौराहाका पर्यटन व्यवसायी गुणराज थपलियाका अनुसार पछिल्ला दिनमा अवस्था सुधारोन्मुख छ। बाढीका बेला पर्यटक आगमन लगभग ठप्पजस्तै भए पनि बाटो खुलेपछि विस्तारै पर्यटक आउन थालेको उनले बताए। ‘अहिले राम्रो हुँदै गएको छ। बाढीका बेला त खत्तमजस्तै भएको थियो। हिजोआज बाटो खुलेपछि सुधार हुँदै छ’, थपलियाले भने।
उनका अनुसार अहिले सौराहाका होटलमा विदेशी पर्यटकको उपस्थिति बढ्न थालेको छ। उनको होटलमा करिब ६० प्रतिशत पर्यटक युरोपियन रहेको उनले बताए, तर नेपाली पर्यटकको संख्या भने अपेक्षाकृत कम छ। बाढी र त्यसपछिको सडक अवरोधका कारण सेप्टेम्बरमा करिब ९० प्रतिशत बुकिङ रद्द भएको थपलियाको भनाइ छ।
निकुञ्जभित्रको बाटो खुल्नुले सौराहाको पर्यटनमा थप सकारात्मक प्रभाव पारेको व्यवसायी बताउँछन्। निकुञ्ज सफारी प्रालिका अध्यक्ष ऋषिराम तिवारीका अनुसार बाढीका कारण निकुञ्जभित्रको पर्यटन गतिविधि शून्यजस्तै बनेको थियो। अहिले जिप, हात्ती तथा अन्य सफारी सेवा पुनः सञ्चालनमा आएपछि पर्यटकको चहलपहल बढेको छ।
‘निकुञ्जभित्रको बाटो खुलेको कुराले धेरै सहज भएको छ। बाढीका बेला त ठप्पै थियो’, उनले भने, ‘अहिले विस्तारै राम्रो हुँदै गएको छ’, उनका अनुसार अहिले सौराहाका होटलमा करिब ५० प्रतिशतसम्म अकुपेन्सी पुगेको छ।
दसैंपछि पर्यटकको आवागमन बढ्न थालेकाले व्यवसायीले पनि सेवा विस्तार गर्दै लगेका छन्। सौराहामा रहेका हात्ती सफारीका २९ वटा हात्तीले पर्यटक बोकिरहेका छन्। पर्यटकको चाप बढेमा एकै दिनमा थप ट्रिप सञ्चालन गर्ने तयारी व्यवसायीले गरेका छन्। ‘हात्तीले दैनिक दुई ट्रिपसम्म पर्यटक बोकेका थिए’, उनले भने, ‘अहिले तीनपटकसम्म बोकेका छन्। पर्यटक बढे भने चारपटकसम्म बोक्नुपर्ने हुन सक्छ।’
निकुञ्जभित्र अहिले जिप सफारी पनि सञ्चालनमा आएको छ। निकुञ्जभित्रका बाटाघाटा क्रमशः खुल्दै गएकाले सफारीका गतिविधि सहज बन्दै गएको उनको भनाइ छ। ढुंगा सफारीसमेत सञ्चालनमा आएपछि सौराहाको पर्यटकीय गतिविधि थप विविध बनेको उनले बताए।
तिवारीका अनुसार सौराहाको पर्यटन वन्यजन्तुमा आधारित भए पनि यसको प्रभाव होटल, यातायात, सफारी, मध्यवर्ती क्षेत्र तथा स्थानीय व्यवसायसम्म फैलिएको छ। भैरहवा हुँदै आउने नाका सञ्चालनमा रहेकाले पर्यटकलाई सौराहा आउन अहिले ठुलो अवरोध नरहेको उनी बताउँछन्। ‘सौराहा आउन अहिले कुनै रोकतोक छैन। यहाँ करिब दुई सय रिसोर्ट छन्। आत्तिनुपर्ने अवस्था छैन’, उनले भने।
तर क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष दीपक भट्टराई भने पर्यटन व्यवसाय पूर्ण रूपमा पुरानै अवस्थामा फर्किन अझै समय लाग्ने बताउँछन्। उनका अनुसार बाढीपछि सेप्टेम्बरका ९० देखि ९५ प्रतिशतसम्म बुकिङ रद्द भएका थिए भने अक्टोबरका बुकिङमध्ये पनि करिब ७० प्रतिशत रद्द भएका छन्।
अहिले स्थानीय तथा भारतीय पर्यटकको केही चहलपहल देखिए पनि यो सिजनका लागि त्यो पर्याप्त नभएको भट्टराईको भनाइ छ। उनका अनुसार अहिले होटलमा करिब १५ देखि २० प्रतिशत मात्र अकुपेन्सी छ। जबकि यो समय सामान्य अवस्थामा पर्यटकले होटल भरिने अवधि हो।
‘यो बेला प्याक हुने समय हो तर अहिले १५ देखि २० प्रतिशत मात्र पर्यटक छन्’, उनले भने। भट्टराईका अनुसार बाढी र पहिरोले सडकमा समस्या आएपछि त्यसको प्रत्यक्ष असर पर्यटनमा परेको हो।
काठमाडौं–पोखरा–चितवनजस्ता प्रमुख पर्यटकीय मार्गमध्ये कुनै एउटा स्थानमा मात्रै सडक अवरोध हुँदा पनि पर्यटकको यात्रा प्रभावित हुन्छ। अझ बाढी र पहिरोको समाचार तथा सामाजिक सञ्जालमा फैलिएको सूचनाले नेपालभर नै अवस्था खराब रहेको सन्देश गएको उनको भनाइ छ।
‘नेपाल नै ध्वस्त भयो भन्ने किसिमको सन्देश गयो। मलाई पनि ‘तिमीहरू सुरक्षित छौ’ भनेर धेरै इमेल आए’ उनले भने, ‘वास्तविक अवस्था र बाहिर फैलिएको सन्देशबिच ठुलो अन्तर देखिएको छ।’ नेपालका केही क्षेत्रमा मात्र सडक तथा बाढीको समस्या भए पनि त्यसको असर समग्र नेपालको पर्यटनमा परेको उनको भनाइ छ।
पर्यटक आफैंले देखेको अवस्थाभन्दा पनि विभिन्न माध्यमबाट प्राप्त सूचनाका आधारमा यात्रा तय गर्ने भएकाले सकारात्मक र यथार्थपरक सूचना प्रवाह आवश्यक रहेको उनको भनाइ छ।
नेपाल सरकारले पनि नेपाल सुरक्षित रहेको सन्देश प्रभाव गर्नुपर्ने उनले बताए। उनका अनुसार यही अवस्थामा सौराहाको पर्यटन पूर्णरूपमा पुरानै लयमा फर्कन अझै पाँच महिनासम्म लाग्ने उनको भनाइ छ।
प्रकाशित: १९ आश्विन २०८३ १२:०४ सोमबार



