समाज

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ। फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि लाङटाङ क्षेत्र घुम्नका लागि पर्यटक आउने क्रम सुरु भएको हो।

यातायात पूर्ण रूपमा सञ्चालन भएसँगै लाङटाङ क्षेत्रमा पर्यटकको आगमन बाक्लिएको लाङटाङस्थित ‘माउन्टेन भ्यु’ का प्रोपाइटर निमा लामाले जानकारी दिए। यातायातको सहजतासँगै पर्यटकहरू आउन थालेपछि यस क्षेत्रका पर्यटन व्यवसायीहरूमा उत्साह थपिएको उनको भनाइ छ।

जिल्ला सदरमुकाम धुन्चेबाट दुई दिनको पैदल यात्रापछि लाङटाङ पुग्न सकिन्छ। अहिले धुन्चेबाट ठूलो भार्खु, सानो भार्खु, ब्राबल, ठूलो स्याफ्रु, पहिरो, बम्बो, रिमिचे र लामा होटल हुँदै लाङटाङ पुग्न सकिने वैकल्पिक मार्ग तय गरिएको छ।

गोसाइँकुण्ड गाउँपालिका–४ मा पर्ने पर्यटकीय क्षेत्र निकुञ्ज क्षेत्रमा पर्छ। लाङटाङका वडाध्यक्ष डुण्ढु ज्याङवा तामाङले गत भदौ १० गतेको भोटेकोशी बाढीको विपत्तिलाई बिर्सिएर पर्यटकहरु आउने थालेको जनाए। 

प्रकाशित: ४ कार्तिक २०८३ १०:२६ बुधबार