पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ।
बाढीपहिरो र सडक अवरुद्धका कारण केही महिना व्यवसायमा असर पुगेको थियो। दस बिदा र अनुकूल मौसमका कारण सौराहामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो।
दसैँको आरम्भका दिनमा अपेक्षाअनुसार आन्तरिक पर्यटक नआए पनि क्रमशः पर्यटकको आगमन उल्लेख्य बढेको छ। पर्यटकको आगमन बढेसँगै यहाँका होटल, रेस्टुरेन्ट तथा अन्य पर्यटन व्यवसायमा समेत उत्साह थपिएको व्यवसायीले बताएका छन्।
सौराहामा पर्यटन व्यवसाय गर्दै आएका गोकर्ण गिरीले पछिल्ला दिनमा पर्यटकको चहलपहल बढेसँगै व्यवसायी उत्साहित भएको बताए। पर्यटकको आगमन बढेपछि होटल तथा अन्य पर्यटन व्यवसायमा व्यस्तता बढेको उनको भनाइ छ। उनले भने, 'अहिले सौराहामा रहेका पर्यटन व्यवसायी सबै खुसी छन्। कोही सपिङ गर्न गएका छन्, कोही जङ्गल गएका छन्, कोही घुमफिरमा गएका छन्। सबैतिर चहलपहल र दौडधुप देखिन्छ।'
पर्यटकको आगमनले व्यवसायीको मुहारमा खुसी फर्किएको उल्लेख गर्दै उनले पछिल्लो समय पाहुनाको चाप बढेको बताए।
सौराहास्थित वाटिका रिसोर्टका व्यवस्थापक लव सापकोटाले पनि दसैँका समयमा विशेषगरी आन्तरिक पर्यटकको आगमन बढेको बताउनुभयो। पाहुनाको सङ्ख्या बढेसँगै कोठा व्यवस्थापन र बुकिङ मिलाउन केही दिनअघिदेखि नै व्यस्तता बढेको उनले जानकारी दिए।
उनका अनुसार रिसोर्टमा रहेका सबै कोठा पछिल्ला दुई-तीन दिनदेखि भरिएका छन्। चाडपर्वका समयमा नेपाली पर्यटकको सङ्ख्या बढी देखिएको उनले बताए। उनले भने, 'पाहुनालाई कोठा पु¥याउन निकै मुस्किल भइरहेको छ। व्यवस्थापनमा व्यस्तता बढेको छ। अहिले नेपाली पर्यटक नै बढी देखिन्छन्।'
पर्यटन व्यवसायी ऋषि तिवारीले गत वर्षको तुलनामा यसपटक दसैँको टीकापछिको समयमा पर्यटकको आगमन राम्रो रहेको बताए। सार्वजनिक बिदा र चाडपर्वका कारण सौराहामा पर्यटकको चहलपहल बढेको उनको भनाइ छ।
उनले सौराहा भ्रमणमा आउने पर्यटकका लागि जीप सफारी, हात्ती सफारी, राप्ती नदीमा डुङ्गा सयर तथा थारू सांस्कृतिक नाचलगायतका गतिविधि प्रमुख आकर्षण रहेको बताए। अहिलेको मौसम सौराहा भ्रमणका लागि अनुकूल रहेको उल्लेख गर्दै उहाँले स्वदेशी तथा विदेशी पर्यटकलाई यहाँ आउन आग्रह गरे।
सौराहाबाट चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारीका लागि जीप सञ्चालनमा रहेका छन्। राप्ती नदीमा डुङ्गा सयर तथा हात्ती सफारीको व्यवस्था छ। डुङ्गा सयरका क्रममा नदीका विभिन्न जलचर तथा चराचुरुङ्गी अवलोकन गर्न सकिन्छ। पर्यटकको मागअनुसार हात्ती सफारीलगायतका सेवा उपलब्ध गराइने तिवारीले बताए।
उनले भने, 'यसपटक मेरो अनुभवमा गत वर्षको भन्दा पनि राम्रोसँग पाहुनाहरू सौराहा आउने क्रम बढेको छ।' यसले पर्यटन व्यवसायीलाई ठूलो राहत र नयाँ उत्साह दिएको उहाँको भनाइ छ।
क्षेत्रीय होटल सङ्घ नेपाल, चितवनका पूर्वअध्यक्ष सुमन घिमिरेले दसैँको बिदाका समयमा सौराहालगायतका पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढेको बताए। उनका अनुसार यसपटक आन्तरिकसँगै बाह्य पर्यटकको सङ्ख्या बढेको छ।
उनले भने, 'हामीलाई उत्साह थपेको छ। हिजो, आज सौराहालगायत विभिन्न पर्यटकीय क्षेत्रमा पर्यटकको सङ्ख्या राम्रो पाएका छौँ।'
भोटेकोशीमा आएको बाढीलगायतका प्राकृतिक विपत्तिका कारण पर्यटनको मुख्य सिजन सुरु हुन करिब एक महिना ढिलाइ भएको उनले बताए। बाढीपहिरो र सडकको अवस्थाका कारण पर्यटकका बुकिङ प्रभावित भए पनि पछिल्लो समय आगमन बढ्न थालेको उहाँको भनाइ छ।
सौराहा चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वारमध्ये एक हो। निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनमा घुम्न आउने पर्यटकको प्रमुख बसाइस्थलका रूपमा सौराहा परिचित छ।
प्रकाशित: १० कार्तिक २०८३ १२:१७ मंगलबार