नेपालीको महान चार्ड दशैं घरघर भित्रिसकेको छ । प्राय: दशैंको किनमेल सकिँदै गएको छ । दशैंको उल्लास परिवारमा छाएको छ । यो उल्लासलाई अहिलेको झरीले केही खल्लो बनाइरहेको छ ।
दशैंकै बिदामा घर हिँडेका धेरै यात्री पहिरोको सास्ती भोग्दै यात्रा गर्दा दशैं कस्तो हुने भन्ने चासो उत्तिकै बढेर गयो । मौसम पूर्वानुमानलाई हेर्दा पनि प्राकृतिक रुपले यो वर्षको दशैं अपेक्षाकृत उत्साहको नहुने देखिएको छ । किनभने आज खुलेको मौसम पर्सी फूतपातीको दिनदेखि धुमिल हुने पूर्वानुमान मौसमविद्ले गरेका छन् ।
फूलपातीपछिका दिन दशैंको टीका र त्यसपछि पनि लगातार पानी पर्ने अनुमान जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम विभागले सोमबार (फूलपाती)देखि नै देशको मौसम प्रणालीमा बदली हुने र मनसुन बढी सक्रिय हुने जनाएको छ ।
अहिले देशभर मनसुनी वायुको प्रभाव कमजोर भएर स्थानीय वायुको प्रभाव बढेको छ । जसले मनसुन निस्क्रिय भएको छैन । आज (शनिबार)खुला देखिएको आकाश फूलपातीसम्म यथावत रहने भएपनि फूलपातीकै दिन अबेरदेखि मनसुन सक्रिय रहनेछ । जसले यो वर्षको दशैंलाई हिले बनाउने प्राय: निश्चित जस्तै छ । मनसुनको सक्रियता दशैंभर नै रहने मौसमविद प्रतिभा मानन्धरले नागरिकलाई बताइन ।
उनले भनिन्, ‘हामीसँग तीन दिनको पूर्वानुमान गर्नसक्ने मात्र प्रविधि छ । त्यसपछिको पूर्वानुमान गर्न कठिन छ । तर मौसम प्रणालीलाई हेर्दा यो वर्षको दशैंमा फूलपातीदेखि देशका अधिकांश ठाउँमा पानी पर्छ । ठूलो पानी पर्ने सम्भावना कम रहे पनि लगातार सिमसिम पानी परिरहने छ ।’
देशको पूर्वी भागमा मनसुन बढी सक्रिय हुने र मध्यमागमा स्थानीय वायुको प्रभाव बढ्ने उनले बताइन । ‘दशैंको अवधिमा धेरै स्थानमा मनसुन सक्रिय हुने सम्भावना देखिएको छ । यो विशेषत: पूर्व हुँदै पश्चिमतिर सक्रिय हुने देखिन्छ । यो पटक स्थानीय वायुको प्रभाव र मनसुनी वायु मिसिँदा धेरै वर्षा हुने सम्भावना देखिएको हो । पूर्वमा मनसुन बढी सक्रिय हुने, मध्य नेपालमा स्थानीय वायुको प्रभाव बढी हुने देखिन्छ ।’
स्थानीय वायुसँगै नेपाल भित्रिएको बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव पनि बढी देखिएकाले फूलपातीदेखि पानी पर्ने देखिएको उनले बताइन । अक्टोबर दुईदेखि सात (असोज १६ देखि २१)सम्म पानी पार्ने प्रणाली सक्रिय हुने देखिएकाले दशैं हिले हुने निश्चित जस्तै भएको मानन्धरले बताइन ।
देशभर लगातार पानी परे पनि बाढीको जोखिम हुने खालको ठूलो पानी पर्ने सम्भावना कम रहेको उनले बताइन । लगातार पानी पर्दा पहिरोको जोखिम भने कायम रहेको भन्दै उनले यात्रा गर्दा सावधानी अपनाउन सुझाएकी छन् ।
उनका अनुसार असोज १४ पछि झरीको सम्भावना बढेर गएको छ ।
प्रकाशित: ११ आश्विन २०८२ १०:४७ शनिबार