समाज

नेपालमा हालसम्म १६८ प्रजातिका लामखुट्टे भेटिएको पुष्टि

विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरेर आज मनाइँदै छ। लामखुट्टेको टोइकाइबाट उत्पन्न हुने रोगबाट बच्न तथा यसबारे जनचेतना फैलाउन यो दिवस मनाइन्छ।

लामखुट्टेको टोकाइबाट औँलो, डेँगी, चिकन गुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले, जापनिज इन्सेफलाइटिसजस्ता रोगहरू लाग्दछ। नेपालमा हालसम्म १६८ प्रजातिका लामखुट्टे भेटिएको पुष्टि भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा गत आवमा ती रोगबाट करिब १८ हजार ७१० जना प्रभावित भएका थिए। पछिल्लो समय जलवायु परिवर्तनका असरका कारण उच्च हिमाली भेगमा समेत लामखुट्टेको टोकाइबाट हुने रोगको जोखम उच्च हुँदै गएका छन्।

विभागले सातवटै प्रदेशमा कीटजन्य रोग नियन्त्रणका लागि प्रयोगशाला स्थापना गरेर विभिन्न काम गरिरहेको जनाएको छ। किट रोग नियन्त्रण शाखाका प्रमुख डागोकर्ण दाहालका अनुसार पछिल्लो समय कीटजन्य रोग ५६ जिल्लामा देखा परिसकेको छ।

प्रकाशित: ४ भाद्र २०८३ ०९:३६ बिहीबार