कर्णालीमा व्याप्त बालविवाह रोक्न कानुनको प्रभावकारी कार्यान्वयनका साथै जनचेतनामूलक कार्यक्रम आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन् । 'बालविबाहविरुद्धको प्रादेशिक रणनीतिक योजना–२०८२ को प्रभावकारी कार्यान्वयनमा सरोकारवालाको भूमिका' विषयक छलफल कार्यक्रममा सरोकारवालाहरुले कानुनी कारवाही र जनचेतनामूलक कार्यक्रमलाई सँगसँगै समुदायमा लिएर जानुपर्ने बताए ।
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बालविवाह न्यूनिकरणका लागि जनचेतनामूलक कार्यक्रमहरुमा जोड दिइएको बताए । उनले बालविवाहविरुद्ध प्रादेशिक रणनीतिक योजनाको प्रभावकारी कार्यान्वयनका लागि बाल अधिकार र सशक्तिकरणका क्षेत्रमा आवश्यक बजेटसहित कार्यक्रम सुरु गरिएको जानकारी दिए । ‘बालविवाहविरुद्धको प्रादेशिक रणनीतिक योजना प्रभावकारी कार्यान्वयनकै लागि बालअधिकारका क्षेत्रमा बिभिन्न कार्यक्रममा बजेट छुट्याएका छौं,’ उनले भने, ‘अहिले ति कार्यक्रमहरु कार्यान्वयनको चरणमा छन् ।’
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाहले जनचेतनामूलक कार्यक्रममार्फत बालविवाह न्यूनिकरण गर्न सकिने बताए । यसका लागि समाजका अगुवा र विद्यार्थीले भूमिका खेल्नुपर्ने उनको भनाई छ । ‘कर्णालीमा बालविवाह अधिक छ भन्ने विभिन्न तथ्याङ्कहरुले देखाएका छन्,’ उनले भने, ‘यसको न्यूनिकरणका लागि समाजका अगुवा र विद्यार्थीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ ।’
कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक माधव श्रेष्ठले बालविवाहका घटनाहरु प्रहरी कार्यालयसम्म आउने नगरेको बताए । उनले कतिपय ठाउँमा प्रहरी आफैले थाहा पाएर बालविवाह गर्नबाट रोक लगाएको बताउँदै समाजमै यस्ता घटनाहरु गुपचुप हुने गरेको बताए । उनले बालविच्याइँ गर्नेहरुलाई राख्नका लागि कर्णालीमा बाल सुधार गृह नहुँदा पनि समस्या भइरहेको बताए ।
सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले बालविवाहबिरुद्धको प्रादेशिक रणनीतिक योजनालाई प्रभावकारी कार्यान्यवन गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा बालविवाह विरुद्धको साझा अभियान सन्जाल कर्णाली प्रदेशका अध्यक्ष पबित्रा शाही, अधिवक्ता गीता कोइरालालगायतले बोलेका थिए । कार्यक्रममा सर्मिला विसीले कर्णालीमा बालविवाहको अवस्था र सरोकारवाला निकायहरुले खेल्नुपर्ने भूमिकाका विषयमा प्रस्तुतीकरण गरेकी थिइन् ।
प्रकाशित: ४ पुस २०८२ १८:१७ शुक्रबार