समाज

हेर्दा हेर्दै टिमुरे बजार बाढीले लग्यो

बुधबार बिहान तिब्बती क्षेत्रको भोटेकोशीमा आएको बाढीले रसुवाको टिमुरे बजारमा कुनै पनि संरचना बाँकी छैन। रसुवा भन्सार कार्यालयका भन्सार अधिकृत राजेन्द्र ढुंगानाले यस्तो जानकारी गराएका हुन्। 

प्रत्यक्षदर्शी भन्सार अधिकृत ढुंगानाका अनुसार बाढी आउनुभन्दा अगाडी आफुहरु कार्यालयमै भएको बताए । ढुंगानाका अनुसार कार्यालयमा बसिरहँदा भुइँचालो आए जस्तो अनुभुति भयो। एकदमै हल्लायो। भुइँचालो आएछ भनेर बाहिर निस्किँदा मास्तिर ठूलो ज्वालामुखी विस्फोट भएर जसरी सय मिटर उचाई भएको छालसहितको बाढी आयो। 

धुँवाको मुस्लोका कारण अन्धकार जस्तै थियो । बाढी आयो भनेर होसले काम नै गरेन । दौडिएर जंगलतिर कुद्यौं । कहाँ के भयो केही थाहा पाउन सकेनौं । को कता थिए । थाहा पाइएन । हेर्दा हेर्दै टिमुरे बजार बाढीले लग्यो । घर, पसल, बजार कार्यालय केही बाँकी रहेनन्। 

बुधबार बिहान यस क्षेत्रमा पौने ९ बजे बाढी आएको हो । एक्कासी बाढी आएपछि मात्र थाहा पायौं । पहिला कतैबाट पनि जानकारी पाएनौं । अहिले भन्सार कार्यालयका पाँजजना कर्मचारी सम्पर्कमा आएका छन् । नेपाल–चीन मितेरी पुलमा ड्युटीमा गएका कर्मचारीसँग सम्पर्क नै हुन सकेको छैन । हामी टिमुरे बजारभन्दामाथिको जंगलमा छौं। 

स्थानीय, सेवाग्राही, भन्सारका कर्मचारी सहित ४० जना जति जंगलमा बसिरहेका छौं । बजारभन्दा धेरै माथि छौं । भन्सार यार्डको त नाम निसानै छैन । ३०० सयभन्दा बढी विद्युतीय गाडी र ट्रकहरू भन्सार जाँच पास हुने क्रममा थिए । टिमुरे बजार र रसुवागढी नाकातर्फ ठाउँ ठाउँमा रोकेर राखिएका गाडीको त हिसाब किताबै छैन । कति थिए गाडी एकिन छैन । सबै बगाएको छ । बाटैभरी गाडी थिए । बाढीले सबै बगाएको छ।  

प्रकाशित: १० भाद्र २०८३ १४:१९ बुधबार